Connect with us
Kapilvast Forest

चार जनाले पाए नयाँ नामसहितको नागरिकता

२०७९, ५ आश्विन बुधबारमा प्रकाशित

दैलेख जिल्लाका चार जनाले नयाँ नाम नामसहितको नागरिकता प्राप्त गर्नुभएको छ। जिल्लाको भगवतीमाई गाउँपालिका ३ मेहेल्तोलीका कुकुर कामी (क) सोही वडा नम्बर ६ का कुकुर कामी (ख) भगवतीमाई गाउँपालिका –५ का ठगे कामी र दुल्लु नगरपालिका नगरपालिका–१ का फ्याउरो वादीले नयाँ नामसहितको नागरिकता प्राप्त गर्नुभएको हो।

प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले नागरिकतामा रहेको ठेगाना, नागरिकता नम्बर, बाबुको नाम, नागरिकता जारी भएको मिति पुरानै कायम गरी नागरिकताको प्रतिलिपि दिइएको बताउनुभयो। उहाँले कुकुर नाथर भएका दुई जना मध्ये एक जना काशीराम कामी र अर्कोलाई कविराम कामी, ठगे कामीलाई कर्णबहादुर कामी र फ्याउरो वादीलाई फणिन्द्र वादीको नाममा नागरिकता दिइएको जानकारी दिनुभयो।

२०१७ सालमा जन्मिनु भएका कविराम कामीले २०४६ साल जेठ ७ गते नागरिकता बनाउन्न गाउँ गएको बेला कुकुर कामी राखिएको बताउनुभयो। उहाँले आफू सामान्य पढ लेखसमेत गर्न नजानेका कारण के नाम राखियो भन्ने थाह नभएको बताउनुभयो। उहाँलाई तत्कालीन नागरिकता टोली प्रमुख दुर्गाप्रसाद गिरीले प्रमाणित गरी नागरिकता प्रदान गर्नुभएको थियो। उहाँ नाम सच्याएर नागरिकता पाउने पहिलो व्यक्ति हुनुहुन्छ।

अपमानित नाम संशोधन गरेर भगवतीमाई गाउँपालिका–५ ठगे कामीलाई पनि नाम संशोधन गरी नागरिकता प्रदान गरिएको छ। २०३५ सालमा जन्मिनुभएका उहाँले २०५६ साल चैत्र २० गते नागरिकता प्राप्त गर्नुभएको थियो । उहाँले कक्षा सातसम्म पढेको भए पनि तत्कालीन द्वन्द्वको बेला भएका कारण शैक्षिक योग्यता प्रमाणपत्र राख्न नपाएर बनाएको नागरिकतामा ठगे कामी उल्लेख गरिएको थियो। उहाँले आफ्नो नाम कर्णबहादुर कामी भएको भन्दै नागरिकता सच्याउन निवेदन दिएको भए पनि जिल्ला प्रशासनले उक्त प्रमाणका आधारमा नागरिकता दिन नसकिने बताएपछि पहिलो पढेको विद्यालयबाट प्रमाण मगाएर कर्णबहादुर कामीको नामबाट नागरिकता प्रदान गरिएको छ।

२०१३ सालमा जन्मनु भएका कुकुर कामी नाम ९संशोधन० काशीराम कामी २०५९ साल पुस १७ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवालीले प्रमाणित गरेको नागरिकतामा उहाँको नाम कुकुर कामी उल्लेख गरिएको थियो। उहाँको नामसँगै उहाँका छोरा हस्तबहादुर कामी र सञ्जीव कामीको नागरिकतामा बुवाको नाम सच्याएको छ।

२०४० जेठ २ गते जन्मिएका फणिन्द्रले नयाँ नामसहितको नागरिकता पाउनुभएको छ। अभिलेखअनुसार फणीन्द्रले पहिलो प्रतिलिपि २०७५ वैशाख २५ गते पुरानै नाममा लिनुभएको थियो। अहिले अपमान बोधक नामको सट्टा फणीन्द्र वादी नाम बनाएर दोस्रो प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवालीले २०६० जेठ ९ गते प्रमाणित गरेको नेपाली नागरिकतामा उनको नाम ‘फ्याउरो वादी’ उल्लेख थियो। उक्त नामले आफूलाई अपमान बोध भएको भन्दै फणिन्द्रले सच्याइदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। उति बेला नै यो नाम नराखी दिन आग्रह गर्दा पनि गाविस सचिवले गरेको सिफारिसका आधारमा नागरिकतामा अपमानित नाम लेखिएको उहाँको भनाइ छ।

गृह मन्त्रालयले गत साउन २३ गते यस्ता अपमानजनक नाममा नागरिकता जारी नगर्न र अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन परिपत्र गरेपछि उनीहरुको नाम सच्चिएको हो। कविरामका एक छोराको नागरिकतामा बुबाको नाम र कर्णबहादुरको श्रीमतीको नागरिकतामा पतिको नाम सच्याइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu