नेपालमा पहिलाे पटक ग्रिन हाइड्रोजन सम्मेलन हुने
काठमाडौं – आगामी असोज २४ गतेदेखि ग्रीन हाइड्रोजन सम्मेलन हुने भएको छ।
मंगलवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो। एम आईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संयुक्त आयोजना आगामी असोज २४ गतेदेखि दुईदिन नेपाल ग्रीन हाइड्रोजन समिटको पहिलो संस्करण हुने भएको हो।
नेपाल हरित हाइड्रोजन सम्मेलन ‘पग्लिँदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना गरिएको आयोजकले बताएको छ।
सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन, असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ उर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने रहेको आयोजक नेपाल ग्रीन हाइड्रोजनले जनाएको छ।
एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले नेपालमा ग्रीन हाइड्रोजनको उत्पादनका लागि पूर्वाधार र श्रोत उल्लेख्य भएपनि व्यावसायिक रुपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आवश्यक रहेको बताउनुभयाे ।
उहाँले अब बिस्तारै ग्रीन हाइड्रोजनमा जानैपर्ने भएका कारण परिणाम कसरी ल्याउन सकिन्छ भन्ने बारेमा सोच्न आवश्यक भएको बताउनुभयाे ।
सम्मेलनमा नेपालमा हरित हाइड्रोजन उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा वहस र विश्लेषण हुनेछ। योसँगै नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ। दुई दिने सम्मेलनमा नेपालका उद्योग क्षेत्रका व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ, हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख प्रतिनिधिको सहभागिता रहनेछ।