Connect with us
Kapilvast Forest

म्यादी प्रहरीको तालिम सुरु

२०७९, १ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौँ– आगामी मङ्सिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी)को तालिम सुरु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ। यस पटक म्यादी प्रहरी भर्ना हुनेको आकर्षण विगतका निर्वाचनभन्दा बढी देखिएको छ। देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएकामा दुई लाख ३४ हजार ३६२ जनाले आवेदन दिएका थिए।

भर्ना प्रक्रियाबाट छनोट भएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन स्थलमा परिचालन गर्ने तयारी गरिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले सुरक्षाको दृष्टिले अति संवेदनशील निर्वाचन केन्द्रमा नौ जना, संवेदनशील निर्वाचन क्षेत्रमा छ जना र सामान्य निर्वाचन स्थलमा पाँच जना खटाउने तयारी भएको जानकारी दिनुभयो।

उहाँले म्यादी प्रहरी भर्ना हुन चाहनेको सङ्ख्या विगतका निर्वाचनभन्दा बढी हुनु प्रहरीप्रतिको आकर्षणसमेत रहेको बताउनुभयो। उहाँले प्रत्येक पाँच वर्षमा सम्पन्न हुने निर्वाचनको सुरक्षामा पहिलो पङ्क्तिमा बसेर सेवा गर्ने अवसर पाउने भएकाले पनि यस पटक आकर्षण बढेको बताउनुभयो। म्यादी प्रहरीमा भर्ना भएकाले ४० दिन निर्वाचन सुरक्षामा खटिनुपर्नेछ।

त्यसबापत उनीहरूले एकमुष्ट ५१ हजार १६० रुपियाँ पाउनेछन्। यसैगरी दुर्गम हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई न्यानो कपडाबापत थप एक हजार रुपियाँ उपलब्ध गराइने बताइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षका लागि खटिने म्यादी प्रहरीले ड्रेस, जुत्ता, सिट्ठी, लौरो प्रयोग गर्न पाउनेछन्। निर्वाचनका बेला मतदाताको लाइन व्यवस्थापन तथा प्रहरीको सहयोगीका रूपमा परिचालन गरिनेछ।

म्यादी प्रहरीको भर्ना संयोजन प्रहरी प्रधान कार्यालयको निगरानीमा प्रदेश प्रहरी कार्यालयबाट पूरा भएको छ। तालिम सकिएसँगै आगामी कात्तिक ९ गतेदेखि उनीहरूलाई मतदान स्थलको सुरक्षामा परिचालन गरिनेछ। निर्वाचनको सुरक्षामा खटिएर राम्रो काम गर्नेलाई पुरस्कार तथा गलत गर्नेलाई कारबाहीसमेत हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। तोकिएको जिम्मेवारी पूरा गर्ने म्यादी प्रहरीलाई प्रशंसापत्रमार्फत सम्मान गरिनेछ।

त्यसैगरी गलत गर्नेको विवरण राखी सुरक्षा जिम्मेवारीबाट वञ्चित गरिने प्रहरी मुख्यालयले जनाएको छ। निर्वाचन सकिएसँगै आगामी मङ्सिर ८ गते देशभरका म्यादी प्रहरीको बिदाइ गरिनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu