Connect with us
Kapilvast Forest

मधुमेहलाई बेवास्ता गर्दा ठूला समस्या

२०७९, २८ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौँ- नेपालमा बालबालिका तथा युवा अवस्थामै मधुमेह लाग्नेको सङ्ख्या बढदै गएको छ । मधुमेह रोग विशेषज्ञ डा. सन्तोष शाक्यले कम उमेरमै मधुमेह भएर उपचारका लागि बिरामी आउने गरेको बताउनुभयो ।

अस्वाभाविक खानपानले सुगरको मात्रा धेरै भएर बालबालिका तथा युवामा मोटोपनको समस्या हुने र मधुमेह रोग देखिने गरेको बताउँदै उहाँले आफूकहाँ उपचार गर्न आउने बिरामीमा युवा अवस्थाका समेत रहेको बताउनुभयो । उहाँले मधुमेह रोग वंशाणुगत हुने भन्दै मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि मधुमेह हुन सक्ने बताउनुभयो । बढी तौल भएका मानिसमा सामान्य तौल भएका मानिसभन्दा बढी मधुमेह देखिने गरेको उहाँको भनाइ छ ।

तनाव बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्ने भएकोले समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने बताउँदै उहाँले मधुमेह रोगबाट बच्न नियमित व्यायाम, सन्तुलित भोजन, रोग लाग्ना साथ चिकित्सकको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । मधुमेहका ५० प्रतिशत बिरामीलाई आफूलाई मधुमेह भएको थाहा नहुने भएकाले स्वास्थ्य परीक्षण गराउनुपर्ने उहाँको भनाइ छ ।

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहलाई बेवास्ता गर्दा ठूला समस्या आइपर्ने बताउनुभयो । उहाँले मिर्गौला फेल हुने, मुटुको रोग, पक्षघात, अन्धोपनजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले शरीरमा चिनीको मात्रा बढी भएमा मधुमेह रोग लाग्ने भएकाले मधुमेहलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । धेरै पटक पिसाब लाग्ने, मुख सुक्ने, पानी प्यास लाग्ने, तौल घट्ने, थकान महसुस गर्ने, शरीरमा लागेका घाउचोट छिटो निको नभए मधुमेहको लक्षण हुन सक्ने उहाँले बताउनुभयो ।

मधुमेहलाई रोक्न व्यक्ति स्वयं लाग्नुपर्ने भन्दै उहाँले मधुमेह रोकथामका लागि सचेतना अपनाउनुपर्ने बताउनुभयो । केन्द्रीय अस्पतालमा आउने १० बिरामीमध्ये छ जनामा मधुमेह हुने उहाँले बताउनुभयो ।

मधुमेह रोग विशेषज्ञ दीपक मल्लले मधुमेहको लक्षण तत्काल नदेखिने भन्दै आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा जानकारी हुने बताउनुभयो । मधुमेह भएको थाहा पाउँदा विकसित मुलुकमा ५ प्रतिशतको आँखामा असर हुन्छ भने विकासोन्मुख देशमा १० प्रतिशतलाई असर भइसकेको हुन्छ । टाइप १ र टाइप २ गरी मधुमेह दुई प्रकारका हुने जानकारी दिँदै उहाँले टाइप १ कम उमेरका पनि देखिन सक्ने बताउनुभयो । टाइप २ मधुमेह विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुने भन्दै टाइप २ मधुमेह जटिल हुँदै जाँदा इन्सुलिन लगाउनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।

छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला देखिनु, धेरै भोक तथा प्यास लाग्नु, बिनाकारण तौल घट्दै जानु वा थकाइ धेरै लाग्नु, घाउखटिरा सजिलै ठीक नहुनु वा सङ्क्रमण भइरहनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जिउ चिलाउनु जस्ता यसका लक्षण रहेको र यसले दीर्घकालीन अवस्थामा मिर्गौला, आँखा, स्नायु, मुटु तथा रक्तनलीमा असर गर्छ ।

सोमबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै यो दिवस मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १४ तारिखमा विश्व मधुमेह दिवस मनाउने गरिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu