सञ्चारमाध्यमले सरकारको स्तुतिगान मात्रै गाउनु हुँदैन : मन्त्री कार्की
काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ।
शुक्रबार गोरखापत्र संस्थानको अंग्रेजी भाषाकाे प्रकाशन ‘द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सव’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमले सरकारको स्तुतिगान मात्रै गाउनु नहुने बताउनुभएको हो ।
राइजिङ नेपाल गोरखापत्र संस्थानको दोस्रो दैनिक प्रकाशन हो ।अंग्रेजी भाषामा ठूलो आकारमा प्रकाशन भएको पहिलो दैनिक अखबार हो । यो अखबार विश्वसनीय र सरल भाषामा प्रकाशन हुने भएकाले देश विदेशमा रहेका अंग्रेजी भाषाप्रेमीका लागि यो प्रिय छ। वि.सं. २०२२ पुस १ गतेबाट यो नियमित प्रकाशनमा छ।
‘द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सव’ समारोह उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : कविन अधिकारी
उहाँले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गर्नुभयो। मन्त्री कार्कीले भन्नुभयो, ‘‘हामी प्रेस स्वतन्त्रतालाई केन्द्रमा राख्छौँ तर प्रेस स्वतन्त्रताका नाममा जुन किसिमका विसङ्गतिहरु देखा परिराखेका छन्, त्यसलाई पनि हामीले मध्यनजर गरेर अगाडि बढ्न सकेनौँ भनेदेखि त्यसले समाजमा पारेको प्रभावको बारेमा पनि हामी सचेत हुन जरुरी छ।’’
‘‘समाज र नागरिकले विश्वसनीय समाचार खोजेका छन्, त्यसैले सरकारको स्तुतिगान गर्ने पत्रिकाको रूपमा नलानुस्। जे सत्य, तथ्य छ जे निष्पक्ष छ, त्यतातर्फ ध्यान दिनुस् भनेर मैले सबै नेतृत्व वर्गलाई आग्रह गर्दै आएको छु’’, सञ्चारमन्त्रीले भन्नुभयो।
आगामी दिनमा पनि यी प्रकाशनले नेपाली आवाजलाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्दै सञ्चारमन्त्री कार्कीले पत्रपत्रिका खोज्दाखेरी केवल ठेक्काका विज्ञापनका निम्ति मात्रै होइन समाचारको निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपाललाई जनताले हेर्ने पत्रिकाका रुपमा अझ विकसित गर्न सबैको ध्यान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्णरुपमा उपयोग गर्ने मुलुकको रुपमा नेपाललाई दक्षिण एसियामा नै चिनाउने गरी काम गर्नुपर्नेमा उहाँको जोड छ।
उहाँले भन्नुभयो, ‘‘यहाँको समाज स्वतन्त्रताबाट सुसज्जित भएर दक्षिण एसियामा नै स्वतन्त्र पत्रकारिताका निमित्त, अभिव्यक्ति स्वतन्त्रताका निमित्त हामीले संविधानमा जुन नागरिकका हक स्वतन्त्रताका बारेमा जुन व्यवस्था गरेका छौँ, त्यसको पूर्णरुपले उपयोग गर्ने मुलुकको रुपमा दक्षिण एसियामा नेपाल चिनिन सकोस् र दक्षिण एसियामा नेपाललाई त्यस दिशामा अग्रसर गराउन हामी सकुँ। त्यस दिशामा पत्रकार मित्रको ध्यान पुगोस् भन्ने म यहाँहरुलाई आग्रह गर्न चाहन्छु।’’
उहाँले जनताले मुलुकको विकास र समृद्धि चाहेको उल्लेख गर्दै जनचाहना पूरा गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्नु आवश्यक रहेको बताउनु भयो।
वार्षिकोत्सवमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गोरखापत्र र राइजिङ नेपालको पहिलेभन्दा साजसज्जा र समाचार सामग्री राम्रा भएको बताउनुभयो। सचिव अर्यालले अनलाइन संस्करण आकर्षक अनि छिटो खुल्ने भएको बताउनुहुँदै सन्तुलित भएर समाचार प्रस्तुत गर्ने र विश्लेषणात्मक सामग्रीमा जोड दिन सुझाव दिनुभयो। उहाँले बजारमा नकारात्मक समाचारको बिगबिगी छ, नकारात्मक समाचार नै बिक्छ तर राइजिङ नेपालले नकारात्मक अफवाह फैलाउने खालका समाचारलाई चिर्दै सत्य तथ्य समाचारमा केन्द्रित हुनुपर्छ भन्नुभयो।