प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त
काठमाडौ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदले आज दिउँसो पौने पाँच बजे प्रचण्डलाई संविधानको धारा ६ को उपधारा २ अनुसारको प्रधानमन्त्री नियुक्त गर्न आग्रह गर्दै राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए।
प्रचण्डलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले समर्थन जनाएका छन्। यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन्।
प्रचण्डले २६५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदको समर्थन प्राप्त गरेका छन्।
