२६औं वरीयतामा थन्क्याएका शेखरलाई किन नजिक्याउँदैछन् : देउवा
काठमाडौं- नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतन्त्रवादी दल नेपाली कांग्रेसमा वरीयताले विशेष अर्थ राख्छ । सभापति पदमा आफूसँग हारेका शेखर कोइरालालाई शेरबहादुर देउवाले २६औं वरीयतामा थन्क्याइदिएका थिए । प्रतिस्पर्धीको अपमान गरेको आरोप देउवामाथि लागेको थियो ।
तिनै देउवा यति बेला शेखरलाई नजिक्याउन लागेका छन् । उनले यसको सुरुआत गरेका छन् पार्टी कार्यालयमा शेखरका लागि छुट्टै कार्यकक्ष तोकिदिएर । उनले शेखरका लागि बितेको एक वर्षसम्म छुट्टै कार्यकक्षको कुनै खाँचो देखेनन् । अहिले भने केन्द्रीय कार्यसमिति बैठक कक्षसँगै शेखरको कार्यकक्ष तयार भएको छ ।
कार्यकक्षको व्यवस्था भए पनि शेखरले त्यसले उपयोग भने गरिसकेका छैनन् । दुई नेताको सम्बन्ध न्यानो हुने क्रममा कार्यकक्ष बनेको कांग्रेसमा टिप्पणी सुरु भएको छ । संस्थापन र इतर नेताहरुका अनुसार देउवा र शेखर दुरी घटाउने पक्षमा छन् ।
अहिले शेखर कोइरालाको भूमिका असाध्यै सकारात्मक छ । पार्टीलाई एकीकृत र मजबुत कसरी बनाएर जाने भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ,’ संस्थापन पक्षका नेता रामहरि खतिवडा भन्छन् सभापतिको आलोचना मात्रै गरेर पार्टी दह्रो बन्दैन भन्ने उहाँलाई लाग्यो होला ।