जनस्वास्थ्यमा कडा चुनौती बन्दैछ मानसिक समस्या
काठमाडौं- एकातिर व्यक्तिको तीव्र महत्वाकांक्षा अर्कातिर त्यसलाई पूरा गर्ने सरकार र समाजको सीमित सामर्थ्य- यो अवस्थाको परिणाम विकराल समस्याका रूपमा प्रकट हुँदैछ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसँगै हाम्रो समाजको यो भयावह पाटो उजागर भएको छ ।
मृत्यु ढिलोचाँडो निश्चित भए पनि जटिल रोगसँग भिडेर समेत आफ्नो आयु लम्ब्याउन मरिमेट्ने प्राणी हो मानिस । र पनि कोही मानिस आफ्नो जीवन सिध्याउन उद्यत हुन्छन् ।
त्यस्ता अकाल मृत्युहरूमा समाजभित्र गुम्सिरहेका समस्या प्रकट भइरहेका हुन्छन् । मंगलबार नयाँबानेश्वरको संसद भवन अगाडि इलामका ३७ वषर्ीय प्रेमप्रसाद आचार्यले आफैंमाथि आगो लगाएर गरेको मृत्युवरणले पनि त्यही देखाएको छ ।
उनी एउटा दृष्टान्त मात्र हुन् । नेपालमा हरेक दिन १५ देखि १८ जनाले आत्महत्या गरिरहेको विभिन्न अध्ययनले देखाएका छन् । अध्ययनअनुसार एक जना मानिसले आत्महत्या गर्दा अन्य २० जना आत्महत्याको कोसिस गरिरहेका हुन्छन् ।
जीवनप्रति नै वितृष्णा उत्पन्न हुँदा मानिस आत्महत्यातर्फ उन्मुख हुन्छ । आत्महत्याको धेरै जस्तो कारण मानसिक रोगसँग जोडिएको हुन्छ । सामाजिक आर्थिक पारिवारिक लगायत बहुआयामिक पक्ष आत्महत्यासँग जोडिन्छ ।