सके राम्रो गर्छु नसके नराम्रो गर्दिन : मुख्यमन्त्री गिरी
बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर पाएकाले अवसरलाई सदुपयोग गर्ने बताउनुभएको छ । आफ्नो कार्यकालमा राम्रो कामका लागि प्रयास गर्ने बताउँदै नसके नराम्रो नगर्ने उहाँले प्रतिबद्धता बताउनुभयो ।
पत्रकार रामकृष्ण भण्डारीको सत्ता सङ्घर्ष नामक पुस्तकको बुटवलमा आयोजित परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले मुख्यमन्त्रीको कार्यकाल सफल बनाउन सबैको साथ र सहयोग आवश्यक भएको जनाउनुभयो ।
आफूलाई राम्रो कामका लागि आफूलाई बेलाबेलामा झकझकाउन अनुरोध गर्दै जुन कामका लागि लाग्छु त्यसमा दत्तचित्त भएर लाग्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेश बनाउने काममा दृढ भएर उभिने पनि उहाँले जनाए ।
नेपालमा बनेका सरकारहरू टिक्न नसक्नुको कारणबारे खोजी गरी समस्या समाधानमा लाग्नुपर्ने उहाँले बताउनुभयो । आन्तरिक राजनीति मात्र नभई भूराजनीतिको पनि प्रभाव छ कि ? जस्ता गहन विषयको पनि सूक्ष्म अनुसन्धानमा लेखकहरू लाग्नु आवश्यक रहेको बताउनुभयो ।