उपमहानगरले नगरवासीलाई खुसी पार्न बनाएका थरि थरि ताल
दाङको घोराही उपमहानगरपालिकाले जलाशय निर्माणमा २० करोड २१ लाख रुपैयाँ खर्च गरेको छ। यो रकम जलाशय बनाउन सात वर्षमा खर्च भएको हो। जम्मा १९ वटा वडा रहेको घोराहीमा सात वर्षमा १३ वटा वडामा ४२ वटा जलाशय निर्माण गरिएका छन्।
तीमध्ये दुई दर्जन जति घोराहीले आफ्नै बजेटले निर्माण गरेको हो। केही जलाशय प्रदेश सरकारको बजेटबाट र केही बृहत् सिँचाइ परियोजनाबाट निर्माण गरिएका हुन्। घोराहीको पूर्वाधार महाशाखाका अनुसार सबै जलाशय निर्माणमा कुल ९० बिघा क्षेत्रफल प्रयोग भएको छ। सबैभन्दा धेरै ८ वटा जलाशय वडा नम्बर १७ मा बनाइएका छन्।
वडा नम्बर १ मा पाँच वटा २ मा तीन वटा ४ मा पाँच वटा, ५ मा दुई वटा ६ मा ४ वटा निर्माण गरिएका छन्। यस्तै वडा नम्बर ८ १० र ११ मा एक–एक वटा निर्माण गरिएका छन्। वडा नम्बर १२ मा तीन वटा १३ र १६ मा दुई–दुई वटा र १८ मा ६ वटा जलाशय निर्माण गरिएका छन्।