तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडियो
तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडिएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको मंगलबार छिचोलिएको आयोजनाको निमित्त प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो ।
शिल्पकारले भन्नुभयो जटिल र महत्त्वपूर्ण यो काम पूरा हुँदा निकै खुसी लागेको छ, व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रूपमा प्रयोग सकिनेछ ।
आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने उहाँले जानकारी दिनुभयो । प्रवेश सुरुङ ब्रेक थ्रु भएपछि अब सेदी नदीको बायाँतर्फबाट हुने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरणहरू लैजान र आवतजावतका लागि सहज भएको छ । आयोजनाको पहिलो प्याकेज अन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २८ फागुन २०७८ मा पहिलो विस्फोट गराइएको आयोजनाले जनाएको छ ।