Connect with us

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन आज

२०७९, २५ माघ बुधबारमा प्रकाशित

लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा भएको छ। मतदान स्थल निर्माण, मतदान व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

राष्ट्रिय सभा सदस्यमा रिक्त रहेको एक सदस्यका लागि बुधबार लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुने भएको हो। उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान स्थल निर्माण गरिएको छ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। “राष्ट्रिय सभा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ,” सूचना अधिकारी कुँवरले भन्नुभयो, “बिहान १० बजेदेखि मतदानको व्यवस्था मिलाएका छौँ।”

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ। लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३०५ रहेको छ। यसमध्ये प्रदेश सभा सदस्यहरूको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या २१८ रहेको छ।

प्रदेशका १०९ पालिकामध्ये नेपाली कांग्रेसले ४८ पालिकामा जितेको छ। नेकपा (एमाले)ले २७, नेकपा (माओवादी केन्द्र)ले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई, राप्रपा दुई र जनता प्रगतिशीलले एक स्थानमा जितेका छन्।

त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार/चार, जसपा, लोसपा र जनमतले तीन/तीन, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक/एक र स्वतन्त्रबाट दुई जनाले जितेका छन्।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट एमालेका कुमार दसौदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ।

लुम्बिनीमा दलहरूको मतभारलाई नियाल्दा परिणाम एमालेका कुमार दसौदीको पक्षमा आउने आकलन गरिएको छ। गत असोज २३ गते एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देही निवासी खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन थालेको हो।

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता कुँवरका अनुसार मतदान सकिएको एक घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी गणनाको तयारी गरिएको जानकारी दिनुभएको छ।

Author
गोरखापत्र अनलाइन
0

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu