प्रभावकारी भएन आत्महत्या रोकथामका प्रयास
काठमाडौँ- यही माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि आफैँमाथि आगो लगाएर आत्मदाह गरेको घटनाले समाज तरङ्गित छ । आत्मदाह प्रयासको भोलिपल्ट उपचार गर्दा गर्दै उहाँको मृत्यु भयो ।
आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो टिप्पणीले नेपाल सरकारलाई छानबिन समिति गठन गर्न बाध्य बनायो । जिल्ला प्रहरी परिसर काठमाडौँमा मृतक आचार्य पत्नीले दिनुभएको किटानी जाहेरीपछि आचार्यले लेखेका नामका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।
आचार्यले आत्मदाह प्रयास गरेकै दिन सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का रामदेव मरिक (डोम)ले एक सहकारीबाट लिएको एक लाख रुपियाँ ऋणको सावाँ ब्याज तिर्न नसक्दा आत्महत्या गर्नुभयो ।
छोराको विवाह गर्दा ग्लोबल आईएमई लघुवित्तबाट ९० हजार रुपियाँ तथा महुली लघुवित्तबाट १५ हजार रुपियाँ ऋण संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएर ताकेता गरेका थिए ।
त्यसको भोलिपल्ट माघ १२ गते विराटनगरका व्यवसायी मोहन न्यौपानेले आर्थिक भार खेप्न नसकी आत्महत्या गर्नुभयो । विराटनगर सनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आउनुभएका न्यौपानेले लेखेको सुसाइड नोटमा पनि आत्महत्याका कारण आर्थिक तनाव उल्लेख गरिएको छ । यी घटना सेलाउन नपाउँदै माघ २० गते काठमाडौँको पुरानो बानेश्वरस्थित टङ्कप्रसाद मार्गका किशोर श्रेष्ठले सात वर्षीया छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।