सत्ता साझेदारीलाई बलियो बनाउने निर्णय
ललितपुर- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठकले वर्तमान सरकार गठन भएपछि जनतामाझ व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकालेको छ ।बुधबारको सचिवालय बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठनपछि मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको बताउनुभयो ।
उहाँले बैठकमा मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।सचिवालय बैठकले सातवटै प्रदेशमा फागुन र चैत दुई महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीलाई जरैदेखि मजबुत बनाउने उद्देश्यले सञ्चालन हुने सो अभियानमा देशका विभिन्न पालिकामा केन्द्रीय सदस्य खटिने उहाँले जानकारी दिनुभयो ।