राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ- नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताउनुभयो ।
उहाँले विगतमा भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताउनुभएको माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका महासचिव देवप्रसाद गुरुङले हालै सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णयका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषयका साथै पार्टीका स्थायी समितिले गरेको निर्णयका बारेमा प्रष्ट पार्नुभएको थियो ।