सुनकोशीको भरमा माझी समुदाय
ओखलढुङ्गा- तीन वर्षअघि सुनकोसी गाउँपालिका –१ ढेबुवाकी ६० वर्षीया माइती माझी सुनकोसी नदीमा पानी भर्दै भेटिनुभयो । शुद्ध पानी पिउने आफ्नो सपना कालो कपाल फुलेर सेताम्मे हुँदासम्म पनि पूरा हुन नसकेकोप्रति उहाँले त्यसबेला गुनासो गर्नुभयो ।
अहिले पनि ढेबुवावासीले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् । ढेबुवा गाउँको सिङ्गो माझी समुदायले पुस्तौंदेखि खानेपानी समस्या भौग्दैआएका छन् । माझी समुदाय भएको ढेबुवाबासीले सुनकोसी पानीको भरमा जीवनयापन गरिरहेका छन् ।
हिउँदमा नदी सङ्लो भए पनि बर्खा लागेसँगै धमिलो पानी पिउनु ढेबुवाका माझीहरुको बाध्यता हो । बर्खाको धमिलो पानी बढी गनाउँछ स्थानीय रहबहादुर माझीले भन्नुभयो पुस्तौंदेखि सुनकोसी नदीकै पानी खाइरहेका ढेबुवाका माझीहरूले केही वर्ष मुहानबाट पाइपमा पानी ल्याएर पीउनुभयो ।
करिब सात वर्ष जति गाउँमा मुहानको पानी आएको उहाँले बताउनुभयो । त्यो मुहान सुकेपछि फेरि सुनकोशीकै पानी पिउने गरेका छौँ उहाँले भन्नुभयो । समय समयमा नदीको फोहोर पानीका कारण बालबालिकालाई झाडापखाला आउँलगायत रोगले सताउने गरेको रहबहादुरको भनाइ छ ।