सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजान्छौँ : स्वास्थ्यमन्त्री
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशका प्रमुख सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने नीति सरकारले लिएको बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गिरीले प्रतिष्ठानलाई छाता प्रतिष्ठानको रूपमा विकास गर्दै देशका प्रमुख सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने नीति सरकारले लिएको बताउनुभएको हो ।
मन्त्री गिरीले सेवाको गुणस्तरमा उल्लेख्य सुधार ल्याउन र स्वास्थ्य अनुसन्धान, स्वास्थ्य जनशक्तिको उत्पादन र विविध विद्याबीचको परस्पर सिकाइलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।
२० वर्षको अवधिमा नेपालको विशेषज्ञ चिकित्सक उत्पादनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अग्रणी भूमिका खेलेको स्मरण गर्दै देश र माटो सुहाउँदो जनशक्ति उत्पादन गरेर नेपालको स्वास्थ्य क्षेत्रलाई प्रतिष्ठानले ठूलो गुन लगाएको उहाँको भनाइ छ । उहाँले दीक्षित विद्यार्थीलाई सिकेको ज्ञान आम जनतामाझ बाँड्न आग्रह गर्नुभयो ।