नेपालगञ्ज आर्थिक विकास रणनीतिको मस्यौदा तयार
नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज आर्थिक विकास रणनीति’को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । व्यापार खाद्य प्रशोधन प्राविधिक र व्यावसायिक शिक्षा पर्यटन कृषिलगायतका छवटा आर्थिक क्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको छ ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालका अनुसार सो रणनीति २०८० देखि २१०० सालसम्म कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । २१०० सम्ममा स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य सो रणनीतिमा उल्लेख छ । यस्तै उपमहानगरलाई हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य पनि रहेको छ ।
नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले २० वर्षका लागि तयार पारिएको यो रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोसेढुङ्गा साबित हुने बताउनुभयोे । सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजना कार्यान्वयन गर्न सहज हुने जनाउँदै उहाँले स्थानीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनको महत्वाकाङ्क्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताउनुभयो ।