धामी झाँक्रीको भर पर्दा गर्भवतीको ज्यान गुम्यो
स्याउलेगोदावरी- धामी झाँक्रीको भर पर्दा कैलालीको गोदावरी नगरपालिका ८ स्याँउलेगाउँमा एक गर्भवती महिलाको ज्यान गएको छ । अस्वस्थ भएपछि घरमा धामीलाई बोलाएर झारफुकको भर गर्दा २२ वर्षीया कल्पना विकको ज्यान गएको हो ।
कल्पनाको परिवारका अनुसार फागुन ३ गते बिहान २ बजेतिर अस्वस्थ भएपछि उहाँलाई अस्पताल लग्नुको साटो धामीलाई घरमा बोलाएर उपचार सुरु गरिएको थियो । तर, धामीले कल्पनालाई निको पार्न सकेनन् । दिउँसो उनलाई करिब चार किलोमिटर टाढा रहेको गौरीगङ्गा नगरपालिका बनबेहडामा अर्को धामीको घरमा पुर्याइयो ।
त्यहाँ पनि धामीले उनलाई निको पार्न सकेनन् । केही सीप नलागेपछि ३० घण्टापछि कल्पनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । स्याँउलेगाँउको ६ किलोमिटरको दूरीमा रहेको अत्तरियामा निजी अस्पतालहरू छन् ।
मृतक कल्पनाका ससुरा प्रेम विकले बुहारीलाई जिब्रो बाहिर आउने शरीर काप्ने र्याल काँड्ने झड्का आउने समस्या देखिएपछि छरछिमेकी सबैले भूत लागेको भनेपछि धामीको भरमा परेको बताउनुभयो ।