दमकमा सहकारीले बसायो नमुना बस्ती
विराटनगर- सहरी क्षेत्रका कतिपय सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको, सञ्चालक नै फरार रहेकोजस्ता समस्या देखिएका बेला झापाको एउटा सहकारी संस्थाले शेयरधनीका लागि बस्ती निर्माण गरेको छ ।
दमक नगरपालिका- ४ मा मेची बहुद्देश्यीय सहकारी संस्थाले ५७ वटा दुई तले घरको नमुना बस्ती निर्माण गरेको हो । बस्तीको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरे ।
सहकारीले चार वर्षअघि ‘मेची सहकारी आवास’ निर्माणको तयारी गरेको थियो । कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी २०७८ मा सुरु गरेको निर्माण हालै सम्पन्न भएपछि ५७ वटा घर शेयरधनी सदस्यहरुलाई हस्तान्तरण गरेको सहकारीका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले बताए ।