विमानभित्र अनियन्त्रित झडपपछि दिल्लीमा आकस्मिक अवतरण
नयाँ दिल्ली- एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक अधिकारीले एएनआईसँग भन्नुभयो कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली मानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको छ ।
सोमबार बिहान ६ः३० बजे हिथ्रो विमानस्थल लण्डन का लागि उडेको विमान चालक दलका सदस्यले विमान चालकलाई विमानको बीचमा भएको झगडाबारे जानकारी गराएपछि बिहान १० बजे तिर दिल्ली विमानस्थलमा फर्किएको थियो ।
मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी यात्रीले अनियन्त्रित व्यवहार जारी राखे र चालक दलका दुई सदस्यलाई शारीरिक क्षति पुर्याएपछि कमान्डमा रहेका विमान चालकले आफु दिल्ली फर्कने निर्णय गरेको र अवतरणपछि यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको बताइएको छ ।
यस सम्बनधमा एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ अप्रिल १० २०२३ मा दिल्ली–लण्डन हिथ्रो उडान गर्ने तय भएको एयर इन्डियाको विमान एआइ–१ विमानमा सवार एक यात्रुको गम्भीर अभद्र व्यवहारका कारण प्रस्थान गरेको केही समयपछि नै दिल्ली फर्किएको छ ।