राष्ट्रपतिबाट मिटरब्याजीलाई कारबाही गर्नेगरी अध्यादेश जारी
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश बुधबार जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।
यो अध्यादेश जारी भएसँगै मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्ने छ। मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही हुनुपर्ने र आफूहरुलाई न्याय मिल्नुपर्ने भन्दै आन्दोलन गरेपछि सरकारले कारबाहीको बाटो खोल्ने सहमति गरेको थियो।
सरकारले मिटरब्याज अनुचित लेनदेन भन्दै मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश ल्याएको हो। मंगलबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो।
मिटरब्याज पीडितसँगको सहमति अनुसार सरकारले संसद् अधिवेशन अन्त्य भएको समयमा अध्यादेश ल्याएर मिटरब्याजीलाई कारबाही गर्नेगरी मुलुकी संहिता संशोधन गर्ने तयारी गरेको हो।
