सरकार अर्थतन्त्र सुधार गर्न प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
रामग्राम- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक रूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्थाको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा शुक्रबार रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
देशमा अहिले जे जस्तो परिस्थिति देखिएको छ आर्थिक रूपले त्यसको समाधान गर्ने हिसाबले सुशासन र सामाजिक न्याय स्थापित गर्ने कुरामा हामी अघि बढिरहेका छौँ,” उहाँले भन्नुभयो ।
बुद्ध सर्किटको अवधारणाअन्तर्गत चार वर्षअघि तयार भएको गुरुयोजनाका बारेमा उल्लेख गर्दै दाहालले रामग्राम स्तूप र बुद्धसँग जोडिएका हरेक धार्मिक स्थलको विकास गर्न सरकार तत्कालै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
श्रीलङ्काबाट उपहारमा आएको भगवान् गौतम बुद्धको अस्तु धातुको अवशेष प्रधानमन्त्रीलाई देखाइएको थियो । भगवान् गौतम बुद्धको एक मात्र अस्तु धातु रहेको ऐतिहासिक धार्मिक स्थलको रामग्राम नगरपालिकाले संरक्षण गर्दै आइरहेको छ ।