Connect with us
Kapilvast Forest

मन्त्री सिंहको निधनले बझाङवासी शोकमा

२०८०, ६ असार बुधबारमा प्रकाशित

मङ्गलबार दिउँसो दुर्घटनामा परी निधन हुनुभएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधनले बझाङ जिल्ला शोकमा डुबेको छ । मन्त्री भई सकेपछि पहिलो भ्रमणमा जिल्ला आउन लाग्नु भएका मन्त्री सिंहको आगमनपछि उहाँको स्वागतका लागी विभिन्न ठाउँमा कार्यक्रमको समेत तय गरिएको थियो । जिल्लाको जनप्रिय नेताको स्वागतका लागी राखिएका मालासमेत स्वागत गर्न नपाउँदै ओइलिएको छ ।

मन्त्री जिल्ला आउने खबरले उत्साहित बनेका जिल्लावासीमा दुर्घटनाको खबरले एकाएक स्तब्ध बनाएको छ । बझाङको प्रदेश निर्वाचन क्षेत्र (क) निर्वाचित मन्त्री सिंह जिल्लाको जनप्रिय नेताका रूपमा हुनुहुन्थ्यो । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा संलग्न मन्त्री सिंह बझाङ जिल्लामा बसेर विभिन्न सामाजिक कार्यहरूमा संलग्न भएका कारण उहाँको लोकप्रियता जिल्लामा राम्रो थियो । मन्त्री सिंहको निधनले सिङ्गो जिल्लावासी अहिले शोकमा छन् ।

मन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक आफ्ना मतदातालाई खुसी बाँड्ने तथा कुल देवताको पूजा गर्ने, कार्यालय प्रमुखहरूलाई निर्देशन दिन तथा विकास निर्माणका कार्यहरूको अनुगमन गर्न उहाँ आफ्नो गृह जिल्ला आउँदै हुनुहुन्थ्यो । उहाँको निधन भएको खबरपछि सदरमुकाम चैनपुरलगायत जिल्लाभरि नै मन्त्री सिंहको मृत्युको शोकमा बजार तथा ग्रामीण क्षेत्रसमेत चकमन्न छन् ।

उहाँ संलग्न रहेको राजनीतिक दल नेपाली कांग्रेस मात्र नभएर अन्य दलहरूले समेत जिल्लाले एक कुशल, इमान्दार र निष्ठावान् नेता गुमाएकोप्रति गहिरो दुख प्रकट गरेको छ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले जिल्लाले होनहार नेता गुमाएको बताउँदै दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभयो ।

यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले पनि जिल्लाले एक असल राजनीतिज्ञ गुमाएको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले जनताले प्रिय नेता गुमाउनु पर्दा जिल्ला नै मर्माहित भएको र बझाङको राजनीतिले अपूरणीय क्षति भोग्नु परेको समेत बताउनुभयो । जिल्लास्थित सरकारी कार्यालयमा मात्र नभई विभिन्न सामाजिक सङ्घ संस्था, नागरिक समाजलगायतका शोक वक्तव्य निकाल्दै जिल्लाको एक आदर्श ढलेको बताएका छन् ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष दान बहादुर सुर्मेलीले भन्नुभयो, “मन्त्रीज्यू सादगी जीवनशैली, निष्ठावान् तथा विकास प्रेमी नेता हुनुहुन्थ्यो । कार्यकर्ताका माझमा समेत झन् लोकप्रिय उहाँ मन्त्री भई सकेपछि जिल्लावासीले जिल्लाको विकास र समृद्धिका लागी ठुलो आस गरेका थिए, तर के गर्नु हुने हार दैव न टार भने जस्तै भयो ।” अध्यक्ष सुर्मेलीले मन्त्री सिंहको शोकमा जिल्लामा व्यापार व्यवसाय बुधबार बिहानदेखि दिउँसो ३ बजे सम्म बन्द गरेको समेत बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj