Connect with us
Kapilvast Forest

धरानमा एकै दिन भेटिए १०० भन्दा बढी डेंगु संक्रमित

२०८०, ३ श्रावण बुधबारमा प्रकाशित

धरान उपमहानगरपालिकामा डेंगु संक्रमण निकै तीव्र गतिमा फैलिरहेको छ । एक हप्ता अघिसम्म दैनिक १२-१५ जनामा संक्रमितको पुष्टि हुने गरेकोमा बुधबार १०० भन्दा बढीमा संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार गत तीन वर्ष अगाडिको दृश्य देखिन सुरु गरिसकेको छ ।

सन् २०१९ मा धरानमा डेंगुले महामारीकै रूप लिएको थियो । धरान उपमहानगरपालिकामा मात्रै अहिलेसम्म संक्रमित संख्या २ हजार नाघिसकेको छ ।
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मनसुन सुरु भएदेखि डेंगुका बिरामी आउने संख्या बढ्दो छ ।

‘हाल डेंगुकै बिरामीले आकस्मिक कक्ष भरिभराउ भएका छन् । बिरामीको चाप बढेपछि छुट्टै डेंगु क्लिनिकबाट सेवा दिइरहेका छौं’ पोखरेलले अनलाइनखबरसँग भने, ‘यो सुरुवाती दृश्यले डेंगु प्रकोपकै रूपमा फैलिन सक्ने आकलन गर्न सकिन्छ ।’

उनका अनुसार दैनिक परीक्षण गरिएको मध्ये ७५ प्रतिशतभन्दा बढीलाई डेंगु पुष्टि हुने गरेको छ । डेंगु संक्रमित बढेसँगै धरान उपमहानगरपालिका र प्रतिष्ठानको सहकार्यमा क्लिनिक सञ्चालनमा आएको हो ।

धरानमा हाल संक्रमणसँगै बिरामीको मृत्यु समेत हुन थालेको छ । डेंगु संक्रमणको कारण उपमहानगरपालिका वडा १७ की ३७ वर्षीया महिलाको मृत्यु भइसकेको छ । पोखरेलका अनुसार दैनिक डेंगुका ४०-५० जना आकस्मिक कक्षमा भर्ना हुने गरेका छन् ।

‘आकस्मिक कक्षको क्षमता १०० बेडको छ । तर, डेंगुका दैनिक ५० जनाभन्दा बढी बिरामी भर्ना हुँदा आकस्मिक कक्ष भरिभराउ हुने गरेको छ’ पोखरेलले भने, ‘बालबालिका, गर्भवती, ज्येष्ठ नागरिकसम्मलाई डेंगुको संक्रमण भइसकेको छ । धरानमा समुदायस्तरमा संक्रमण फैलिइसकेको छ ।’

अस्पतालको तथ्यांक अनुसार वैशाखदेखि १७४ जना डेंगुका बिरामीलाई वार्ड वा आईसीयूमा भर्ना गरेर उपचार गरिसकिएको छ । ‘बिरामी अस्पतालमा भर्ना हुने संख्या दिनप्रतिदिन दोब्बरको संख्यामा बढिरहेका छन् । केही दिनयता गम्भीर प्रकृतिका बिरामी बढ्दो छन् । जसलाई आईसीयूमा समेत राखेर उपचार गरिरहेका छौं’, पोखरेलले भने ।

‘अवस्था भयावह हुनसक्ने’

२९ असारदेखि प्रतिष्ठानले जीओपीडी भवन अगाडि सुरु गरेको डेंगु क्लिनिकमा बिहानदेखि नै शंकास्पद बिरामीको लाइन लाग्ने गरेको छ । डेंगु क्लिनिकमा आउने अधिकांश बिरामीलाई संक्रमण पुष्टि हुने गरेको डा. सिम्रन श्रेष्ठ बताउँछिन् ।

‘पछिल्ला दुई–तीन दिनयता डेंगु संक्रमितको केस ह्वात्तै बढेको छ । क्लिनिकमा आएका बिरामीले अन्य परिवारका सदस्यलाई पनि लक्षण देखिएको बताउने गरेका छन्’ डा. श्रेष्ठले भनिन्, ‘अहिले समुदायस्तरमा डेंगु फैलिइसकेको छ । केही हप्तामा संक्रमण व्यापक फैलिने संकेत गरेको छ ।’

उनका अनुसार अधिकांश मानिस घरमै सिटामोल खाएर आराम गरेर बस्ने गर्छन् । तर, गाह्रो बनाएपछि मात्रै अस्पतालमा आउने गरेका छन् ।