१० वर्षमा ४१ क्विन्टल सुन तस्करी,यसरी भित्रिन्छ एयरपोर्टबाट सुन
काठमाडौ – राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० केजी सुन बरामद ग(यो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो भन्ने प्रश्न उठेको छ ।
यस घटनाले विमानस्थलको सुरक्षा संवेदनशीलता र भन्सार प्रशासनमाथि पनि प्रश्न उठेको छ । तथापि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिणाममा सुन तस्करी भएको यो नौलो घटना भने होइन ।
विगत १० वर्षको अवधिमा ठुला तस्करीका घटनामा ४१ क्विन्टल १७ किलोभन्दा बढी सुन अवैध भित्रिएको छ । ठुलो परिमाणमा फेला भने परेको छैन ।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले २०७० साल असार २६ गते काठमाडौँको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो । चीनको खासाबाट भित्र्याइएको ३५ किलो सुन सिआइबीले बा ३ ख २५७० नम्बरको कन्टेनरमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा कोटेश्वरबाट बरामद गरेको थियो । सुनसँगै कन्टेनरका चालक निमा छिरिङ पक्राउ परे तर सुनका मालिक मोहन अग्रवाल, ओमबहादुर बज्राचार्य, घ्याम्पे लामा पक्राउ परे पनि उनीहरू जिल्ला अदालतको आदेशमा धरौटीमा छुटे ।
त्यस्तै २०७४ माघ ९ गते त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ केजी सुन फेला पर्न सकेन । तस्करीको सुन बाटोबाटै हराएपछि सुनका मुख्य भरिया चूडामणि उप्रेती ‘गोरे’ समूहको यातनाबाट मोरङका सनम शाक्यको हत्या भएपछि घटना बाहिरियो । सो घटनामा नाम जोडिएका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरी, थाई एयरवेजका इन्जिनियर सानु बनसहित तीन जनाले त आत्महत्या नै गरे ।
समितिले १९ महिनामा गोरे समूहले मात्र ३८ क्विन्टल सुन तस्करी गरेको र लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल रहेको निष्कर्ष निकाल्यो ।
तस्करीमा संलग्न भनिएका मुख्य अभियुक्तसहित ६३ जना प्रतिवादी अदालती प्रक्रियाबाट पुर्पक्षका लागि जेल चलान भए पनि मुख्य योजनाकार फेला पर्न सकेनन् ।
अर्को घटनामा २०७३ पुस २० गते एयर अरेबियाबाट आएका नेपालगन्जका गोपालबहादुर शाहीका दुई सुटकेसमा सिग्नेचर रक्सीको बोतल राख्ने डिब्बाभित्र लुकाएर ल्याउँदै गरेको २८२ वटा सुनका बिस्कुट, १९ वटा औँठी तथा १८ वटा सिक्रीसहित ३३ किलो सुन बरामद भयो ।
सुनसहितको सुट्केस सजिलै भन्सार पार गरेर शाही ट्याक्सीबाट बाहिरिए । प्रहरीले शाहीलाई सुनसहित गौशालाको पिङ्गलास्थानबाट पक्राउ गर्यो ।
सुन लिन गएका मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले पनि पक्राउ परे । फलामको डिब्बाभित्र कार्बनको कभर राखेर ल्याएको सुनका बिस्कुटलाई प्लास्टिकको कालो टेपले बेरेको अवस्थामा भन्सारले पत्ता लगाउन सकेको थिएन ।
२०७४ भदौ १८ गते राति २ बजे काठमाडौँको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित मनोज अधिकारी पक्राउ परे । बा १७ च ६४२७ नम्बर गाडीको डिकीमा सुन फेलापरेपछि अपराध महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीको नेतृत्वको टोलीले तस्करीको सुन चिनियाँ नागरिकको रहेको पत्ता लगायो । केरुङ नाका हुँदै नेपाल भित्रिएको सुनका मालिक चिनियाँ नागरिक भने पक्राउ परेनन् । गोरखापत्रमा समाचार छ ।
त्यसपछि २०७९ पुस ८ गते त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुन बरामद भयो । फ्लाई दुबईको उडान नम्बर–५१९ बाट भित्रिएको उक्त सुन कपडामा लेपन बनाएर फरक शैलीमा तस्करी गरिएको थियो । प्रहरीले तस्करीको सुनसहित सुडानका नागरिक मोहम्मद अहमेदले डफला साराफेल्दिनलाई पक्राउ गर्यो ।