Connect with us
Kapilvast Forest

लुम्विनी बिकास कोषको सम्पर्क कार्यालय काठमाण्डौमा खोल्ने प्रस्ताव अगाडी बढ्दैनः उपाध्यक्ष लामा

२०८०, २७ श्रावण शनिबारमा प्रकाशित

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकासकोषको सम्पर्क कार्यालय काठमाण्डौ लैजाने सुक्रवारको निर्णय कार्यान्वयन नहुने बताएका छन्।

लामा विकासकोषको उपाध्यक्ष नियुक्त भएपछि लुम्विनीमा बसेको पहिलो बैठकले लुम्बिनीको सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापना गर्ने प्रक्रिया अगाडी बढाएपछि उक्त निर्णयको आलोचना भएको थियो।

सुक्रवारको पदाधिकारी बैठकले बिकास कोषको सम्पर्क कार्यालय काठमाण्डौमा स्थापना गर्ने निर्णय गर्दै उक्त निर्णय अनुमोदनका लागि आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरिएको थियो।

तर लुम्बिनीको सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापना गर्न प्रस्ताव गर्ने निर्णयबारे स्थानीयले आपत्ती जनाएपछि उपाध्यक्ष लामाले उक्त निर्णयमाथी पुनर्विचार गर्ने बताएका हुन्।

उपाध्यक्ष लामाले शुक्रवार बसेको बैठकमा विकासकोषका कर्मचारीहरुबाट काठमाण्डौंमा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव आएपछि त्यसलाई आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय मात्र गरिएको बताए।

‘बैठकमा कर्मचारीहरुबाट प्रस्ताव आएपछि आगामी बैठकमा प्रस्ताव गर्ने निर्णयमात्र गरिएको हो, काठमाण्डौंमा सम्पर्क कार्यालय स्थापना गर्ने विषयमै स्थानीयबाट विरोध हुन्छ भने त्यो निर्णयमाथी पुनर्विचार हुन्छ,’ उपाध्यक्ष लामाले भने।

लामाले आफु बुद्धजन्मस्थल लुम्बिनीलाई विभाजन गर्न नभई बनाउन आएकोले लुम्बिनीका बासिन्दाको भावनामा ठेंस पुग्ने गरि कुनैपनि निर्णय नगर्ने बताए। ‘म लुम्बिनीलाई बनाउनको लागि उपाध्यक्ष भएर आएको हुँ, सम्पर्क कार्यालय काठमाण्डौं स्थापना गर्ने निर्णयले यहाँका बासिन्दाको भावनामा ठेंस पुग्छ भने त्यो निर्णय अगाडी बढ्दैन,’ उनले भने।

तत्कालीन पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलको पालामा काठामाण्डौंमा रहेको कोषको सम्पर्क कार्यालय हटाइएको थियो। पोखरेलले लुम्बिनी विकास कोषमा स्थानीयको पहुँच स्थापित गर्नुपर्ने स्थानीयको माग अनुसार नै काठमाडौंको सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेका थिए।

तर यसअघि पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री बनेका प्रेम आलेको निर्देशनमा सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापना गर्ने निर्णय गरेर गुपचुप राखिएको थियो।

तत्कालिन मन्त्री आलेको निर्देशनमा लुम्बिनी विकासकोषको बैठकबाट निर्णय गरिएपनि त्यसलाई गुपचुप राखिएको थियो। विकासकोषका एक कर्मचारीका अनुसार विकासकोषले सम्पर्क कार्यालय स्थापनाका लागि मन्त्रालयमा कोठा उपलब्ध गराउन दुईपटक पत्र पठाएपनि मन्त्रालयले कोठा उपलब्ध नगराएपछि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन।

त्यतिबेला गुपचुपमा गरिएको निर्णय कार्यान्वयन गर्न शुक्रवार बसेको बैठकमा पुनः प्रस्ताव गरिएपछि उक्त निर्णय सार्वजनिक भएको हो। शुक्रवारको बैठकमा कोषको सम्पर्क कार्यालय काठमाडौं सार्ने प्रस्तावलाई समर्थन गर्दै कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई ९सिद्धिचरण०, सदस्य सचिव सानुराजा शाक्य तथा योजना प्रमुख ईन्जिनीयर सरोज भट्टराईले हस्ताक्षर गरेका थिए।

उपाध्यक्ष लामाले यसअघि काठमाण्डौमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरिएको भएपनि अब त्यसलाई अगाडी नबढाईने बताए। ‘यसअघि नै निर्णय भएको भएपनि अब त्यो अगाडी बढ्दैन,’ उनले भने।

यस्तै उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्धारको लागि आफुले ७ करोड रुपैयाँ उपलब्ध गराउने विषयलाई पनि अनावश्यक रुपमा टिकाटिप्पणी गरिएको बताएका छन्। पानी चुहिने र भत्किने जोखिममा रहेको मायादेवी मन्दिरको जीर्णोद्धारको लागि सरकारी कोषको रकम खर्च नगरि दाताहरुबाट सहयोग संकलन गर्ने भन्दै शुरुवातमा आफुले व्यक्तिगत रुपमा ७ करोड रुपैयाँ उपलब्ध गराउने लामाले घोषणा गरेका थिए।

उक्त घोषणापछि लामाले उपलब्ध गराउने ७ करोड रुपैयाँको बैधानिक श्रोतबारे प्रश्न उठाईएको थियो। उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्धारको लागि आफ्नो बैधानिक श्रोतबाटै ७ करोड रुपैयाँ उपलब्ध गराउने स्पष्ट पारेका छन्।

‘विभिन्न आरोपमा म विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको भएपनि मैले सफाई पाईसकेको छु, अहिलेपनि काठमाण्डौमा ६÷७ स्थानमा मेरो जग्गा जमिन छ, जुन स्थानको जग्गा छिटो वेचविखन हुन्छ त्यहि जग्गा विक्री गरेको पैसा मायादेवी मन्दिरको जिर्णोद्धारको लागि उपलब्ध गराउँछु,’ लामाले भने।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu