Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा दुई वर्षमा १ सय ३६ महिला हराएको उजुरी

२०८०, २९ श्रावण सोमबारमा प्रकाशित

अर्घाखाँचीमा मानिस हराएको उजुरीमा सबैभन्दा बढी सङ्ख्या महिलाको रहेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा विगत दुई वर्षमा १३६ जना महिला हराएको उजुरी परेका थिए। हराएकामध्ये ११ जनालाई अझै पनि भेट्टाउन सकिएको छैन।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार २०७८/७९ मा ७१ जना महिला हराएका थिए। जसमा ६२ जना मात्रै फेला परेका थिए। त्यस्तै २०७९/८० मा ६५ जना महिला हराएको उजुरीमा ६३ जना महिला फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो।

गत दुई वर्षमा २५१ जना मानिस हराएका छन्। तीमध्ये १८ जना अझै फेला परेका छैनन्। आर्थिक वर्ष २०७८/७९ मा १२१ जना मानिस हराएकामा १०६ जना फेला पारिएको थियो। २०७९/८० मा १३० जना हराएकामा १२७ जना फेला पारिएको थियो।

हराउनेमा महिलाको सङ्ख्या हुनुमा पारिवारिक र सामाजिक कारण रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रमुख रिजालले भन्नुभयो, “श्रीमान् विदेश भएका महिला अर्को विवाह गर्ने, अथवा घर छोडेर हिँड्दा परिवारले खोजी गर्न प्रहरीमा उजुरी दिने गरेका छन्। खोज्दै जाँदा कोही विवाह गरेको, कोही अब त्यो घरमा आउँदिन भन्ने घटना नै देखिएका छन्, यसमा पारिवारिक र सामाजिक कारण छन् जस्तो लाग्छ।”

तर बालवालिका भने केही दिन हराए पनि भेटिने गरेका छन्। २०७८/७९ मा २९ जना बालिका हराएकामा २९ जना नै फेला परेका थिए। २०७९/८० मा ३१ जना हराएकामा ३० जना फेला परेका थिए।

जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका घटना भने विगतको तुलनामा बढेको देखिन्छ। आव २०७८/७९ मा कर्तव्य ज्यान मुद्दाका घटना चार थिए भने २०७९/८० मा छ वटा रहेका छन्। जबरजस्ती करणीको घटना चारबाट बढेर छ वटा पुगेको तथ्याङ्क छ। प्रहरीका अनुसार वर्षभरिमा सबैभन्दा बढी अभद्र व्यवहारको घटना भएका छन्। २०७८/७९ मा १६ वटा घटना थिए भने २०७९/८० मा १५ वटा घटना दर्ता भएका छन्।

२०७८/७९ मा जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका ६७ वटा घटना भएका थिए। जसमध्ये ६६ वटा घटना फस्र्योट भएको प्रमुख रिजालले बताउनुभयो। २०७९/८० मा भने ५९ वटा घटना दर्ता भएकामा ५५ घटनाको फस्र्योट भएका छन्। जिल्लामा बहुविवाहको घटना विगतको तुलनामा घटेका छन्। २०७९/८० मा बहुविवाहको घटना सात वटा दर्ता भएका थिए भने २०७९/८० मा चार वटा मात्र दर्ता भएका छन्। गत वर्ष लागुऔषधका घटनाको सङ्ख्या छ थियो भने अहिले चार वटा रहेका छन्।

मानव बेचबिखन तथा ओसारपसारमा यस वर्ष घटना भएका छैनन् भने गत वर्ष दुई वटा घटना दर्ता भएका थिए। बाल यौन दुरुपयोगका घटना यस वर्ष भएका छैनन् भने गत वर्ष दुई वटा भएका थिए।

त्यस्तै समुदाय प्रहरी साझेदारी अन्तर्गत विगत दुई वर्षमा १८ हजार ६७६ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जसमा २०७८/७९ मा ६६० र २०७९/८० मा एक हजार २४३ घटना दर्ता भएका थिए। समुदाय प्रहरी साझेदारी अन्तर्गत लाभान्वित हुनेको सङ्ख्या बढिरहेको प्रहरी कार्यालयले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu