डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
बागमती प्रदेशमा ४ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक÷एक जनाको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर अर्जुन प्रसाद सापकोटाले ललितपुरमा डेंगु सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार इमाडोलकी ३८ बर्षीया महिला र थैवका ७१ बर्षीय पुरुषको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको गोरखापत्रलाई जानकारी दिनुभयो ।
यसअघि डेंगु सङ्क्रमित भएर चितवनमा उपचारको क्रममा मकवानपुरका ४१ बर्षीय पुरुष र चितवनमै उपचारको क्रममा धादिङकी ७२ बर्षीया महिलाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ९ गते शनिवार सम्म प्रदेशका १३ जिल्लामा तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा २ हजार ५५३, काठमाडौँमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२÷१२ जनामा डेंगु पुष्टि भएको छ ।
सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिवार ३९ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ट २५ सम्म तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो एक साताको तथ्याङ्क अनुसार दोलखा, सिन्धुपाल्चोक र रसुवामा डेंगु सङ्क्रमितको सङ्ख्या स्थित रहेको छ भने धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर नुवाकोट, रामेछाप, चितवन, काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुरमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाइ, वरपर पानी जम्न नदिने, पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरिएको हो ।