कपिलवस्तुमा साढे ६ क्विन्टल रक्तचन्दन बरामद, ८ जना पक्राउ
कपिलवस्तु-
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले साढे ६ क्विन्टल रक्तचन्दन बरामद गरेको छ । रक्त चन्दन सहित ८ जनालाई पक्राउ गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कपिलबस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका ७ का गोकुल दर्लामी र मालारानी गाँउपालिका ३ का नीम बहादुर नेपाली रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १ सय ५० ग्राम रक्त चन्दन बुद्धभूमि नगरपालिका वडा न. १ पत्थरकोटबाट नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर थापाले जानकारी दिनुभयो ।
रक्तचन्दन ढुवानीमा प्रयोग गरिएको लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।