Connect with us
Kapilvast Forest

तलाक (सम्बन्ध विच्छेद) को सास्ती खेप्दै मुस्लिम महिला

२०८०, १३ मंसिर बुधबारमा प्रकाशित

इलाका प्रहरी कार्यालय बहादुरगंजमा हैदर र उनकी श्रीमती
इलाका प्रहरी कार्यालय बहादुरगंजमा हैदर र उनकी श्रीमती

सनिउल्ला धोबी,कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ बरगदवा बस्ने हैदर अलीले आफ्नो श्रीमतीलाई फोन मार्फत तलाक दिए । श्रीमती विरामी भएकाले काम गर्न नसकेको भन्दै हैदरले (सम्बन्ध विच्छेद) तलाक दिएको बताएका छन । हैदरले तीन बर्ष पहिले नै तलाक दिएर श्रीमतीसँगको सम्पर्कमा थिएनन । हैदरको विवाह कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं २ बरगदी हो । परिवारको सहमतिमा उनको विवाह भएको थियो । हैदरको एक छोरा र एक छोरी छन ।

इर्दको मौका पारेर हैदरले श्रीमती र बच्चाहरुलाई ससुरालीमा छोडेर लिनै गएनन । माइती पक्षले परिवार लिन आउनु भनेर पटक पटक सम्पर्क गर्न खोज्दा ‘मैले तलाक दिए’ भनेर फोन काटिदिन्थे । तलाक दिएपछी उनको श्रीमतीले र छोराछोरीले निकै दुख पाएको बताइएको छ । एक्लो महिला त्यसमाथि निरक्षर कहाँ जाने के गर्ने विषयमा उनी निकै तनाबमा परेकी अनुभव सुनाइन पीडित महिलाले । उनी न्यायको लागि जिल्ला प्रहरी कार्यालयको महिला सेल समेत गइन ।

प्रहरीले उनको परिवारलाई पुनंःमिलन गर्न प्रयास पनि गरेको थियो । जिल्लाको तौलिहवामा रहेको साथि संस्थाका अध्यक्ष खग प्रसाद चापागाई, महिला सहजकर्ता शुस्मा गुराँगाई र विमला पौडेलले उनलाई सहयोगको हात बढाएको जानकारी दिइन । आँखाभरी आँसुका थोपा लिदै उनले भनिन ‘फोन मै तलाक दिएको जस्तो विषयलाई धेरैले सुनेर पनि नसुने जस्तै गरे ।’

कुनै एक दिन वडा प्रहरी कार्यालय चन्द्रौटामा हैदरलाई आउन फोन समेत गरियो तर हैदर प्रहरी कार्यालय आएनन । हैदरलाई अधिकारकर्मीले फोन गरेपछि छिमिकी मुलुक भारतमा गएर लुक्ने निधो गरे । अधिकारकर्मीले हैदरलाई पछ्यइरह्यो । हैदर घरबाट भारत जान्छु भनेर निस्कीएका थिए । भारत जादै गरेका हैदरलाई जिल्लाको बहादुरगंज चोकमा प्रहरीले नियन्त्रणमा लियो । चन्द्रौटा प्रहरीले बोलाउदा नआएका हैदरलाई बहादुरगंजको प्रहरीको सहयोगमा नियन्त्रणमा लिई पुनंमिलन गराएको साथि संस्थाकी विमला पौडेलले जानकारी दिइन ।

प्रहरी चौकी बहादुरगंजको सहयोगमा हैदर र उनकी श्रीमतीलाई अब कुनै पनि विबाद नगरीसगै बस्ने भनी कागज समेत गराइएको अधिकारीकर्मी पौडेलले बताउनुभयो । हैदरको परिवार अहिले खुशीका साथ जीवन चलाईरहेको छ । हैदर अटो रिक्सा चलाउने काम गर्दछन । साथि संस्थाका अध्यक्ष खग प्रसाद चापगाई भन्नुहुन्छ —हैदर र उनको श्रीमती एक प्रतिनिधी पात्र मात्र हुन । अझै पनि हाम्रो समाजमा तलाकले जरो गाडेर बसेको अवस्था छ । हैदरकी श्रीमती न्याय पाउने आसमा जिल्ला प्रहरी कार्यालय र संघ संस्था धाएर न्याय पाइन । उनले भने ‘अझै पनि हाम्रो समुदायमा कानुन निती, नियम नबुझेर धेरैे दिदिबहिनीले दुख पाउनु परेको छ ।’

लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष समेत रहेका इस्लाम धर्मका धर्मगुरु मौलाना मसहुद खाँ नेपालीले टेलिफोन, पत्रपत्रिका। फेसबुक, ट्वीटरजस्ता माध्यमबाट दिइने तलाकलाई गलत भन्छन् । यसरी दिइने तलाकलाई तलाक मान्न नसकिने मौलाना खाँको भनाई रहेको छ । इस्लामका जानकार तथा अरबी भाषाका धेरै पुस्तक नेपालीमा अनुवाद गर्ने मौलाना कमरुजम्म भन्छन्, तलाक दिदा गवाह –सुन्ने मान्छे चाहिन्छ, तलाकको त्यो तरिकै ठीक होइन ।’ कुरानमा कतै पनि त्यस्तो परिभाषा गरिएको छैन ।

राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष मौलाना डाक्टर अब्दुल गनी अन्सारीले टेलिफोन र संचारका माध्यामबाट तलाक दिनुलाई तलाकको दुरुपयोग र विकृती भएको बताउनुभयो । एकै पटक तलाक, तलाक, तलाक भन्दैमा तलाक नहुने अन्सारीले बताउनुभयो । उहाँले भन्नुभयो तिन पटक तलाक भन्नु गलत प्रवृत्ति हो ।

मौलाना अन्सारीका अनुसार इस्लामले तलाक –पारपाचुकेलाई बाध्यताको रूपमा लिएको छ र यसलाई प्रोत्साहित गरेको छैैन । हलाल अथवा वैध कुरामध्ये तलाकलाई इस्लामले नराम्रो सूचीमा राखेको छ । श्रीमान–श्रीमतीबीच मतभेद उत्पन्न भई सँगै बस्न असम्भव भएका अवस्थामा इस्लाम धर्मले तलाक’को प्रावधान गरेको छ । इस्लामले श्रीमान श्रीमती दुवैलाई सम्बन्ध बिच्छेदको अनुमति दिएको छ । श्रीमानका तर्फबाट वैवाहिक सम्वन्ध विच्छेद गर्नु ’तलाक’ हो ।

इस्लामका जानकार हाजी महबुबका अनुसार श्रीमानले जतिबेला पायो त्यतीबेला विना कारण र अरुको बहकाउमा लागेर तलाक दिन मिल्दैन । श्रीमतीले कुनै बदमासी वा अनावश्यक क्रियाकलाप गरेको अवस्थामा मात्रै तलाक दिन सकिन्छ,। तलाक दिने पनि तरिका छ, एकै पटक तलाक, तलाक, तलाक भन्नु जायज छैन । श्रीमानले तलाक दिने नै हो भने श्रीमती महिनावारी सकिएको अवस्था हुनुपर्छ ।
श्रीमतीलाई तलाक दिनैपर्ने अवस्थामा पुगेको भए महिनावारी सकिएर पवित्र भएको अवस्थामा प्रक्रिया अनुसार श्रीमानले एक तलाक दिन सक्छ ।

रिस उठेको बेला वा आवेशमा आएर तलाक दिए त्यो मान्य हुँदैन । एक तलाक भनिदिँदा दुईबीच सम्वन्ध विच्छेद भईहाल्दैन । पहिलो तलाक दिईएपछि पनि सम्बन्ध सुधारको संभावना हुन्छ । एक तलाक दिइसकेको अवस्थामा पनि श्रीमान श्रीमतीसँगै बस्न सक्छन । सम्बन्ध नसुध्रिए अर्को महिनावारी सकिएर महिला पवित्र भईसकेपछि दोस्रो तलाक भन्न सक्छन ।
दोस्रो तलाक दिइसकेपछि पनि परिवर्तनको मौका दिईएको छ । दोस्रो पटकमा पनि सकारात्मक नदेखेमा मात्रै तेस्रो तलाक दिन सक्छ । तीन पटक तलाक दिएपछि भने पूर्णरूपमा सम्बन्ध विच्छेद हुन्छ । तेस्रो तलाक दिनुअघि नै मिलन भयो भने अघिल्लो पटक दिईएको दुई तलाक स्वतः बदर हुन्छ । उनीहरु श्रीमान श्रीमतीका रुपमा रहन सक्छन ।

तीनपटक तलाक दिएर छुट्टिइसकेकी श्रीमतीलाई फेरि भित्राउन पनि पाइन्छ । तर, त्यसअघि अर्को पुरुषसँग निकाह गरी सँगै बसेको हुनु अनिवार्य छ । यति नै समय सँगै बस्नुपर्छ भन्ने छैन । मौलाना महबुब भन्छन्केही समय बिताएर तलाक दिएको अवस्थामा पहिलेकै श्रीमानसँग फेरी निकाह –विवाह हुन सक्छ । मौलाना महबुकका अनुसार तलाक पाएकी महिलाले तीनपटक महिनावारी हुन्जेलसम्म इद्दत –विशेष अवधि बिताउनु अनिवार्य छ । त्यो पछि मात्र अर्को पुरुषसँग बिहे गर्न पाइन्छ । कसैको श्रीमान बितेको खण्डमा श्रीमतीले चार महिना दस दिनसम्म इद्दत –विशेष अवधि बिताउनुपर्छ ।

श्रीमतीले पनि श्रीमानबाट अलग हुन सक्ने व्यवस्था इस्लाममा छ । त्यो विधिलाई तलाक नभनि खुला भनिन्छ । इस्लामले महिलालाई त्यो अधिकार दिएको छ । श्रीमानको पीडा वा अत्याचार सहनै नसक्ने अवस्थामा पुगे श्रीमतीले त्यो विकल्प अपनाउन सक्छिन । त्यसका लागि श्रीमती र श्रीमती पक्षकाले समाजका काजी, धर्मगुरु सित सम्पर्क गर्नुपर्छ । श्रीमतीपक्षका तर्फबाट सम्बन्ध विच्छेद गराइदिन काजी कहाँ निवेदन गर्नुपर्ने हुन्छ ।

निवेदन पश्चात काजीले सम्बन्धित श्रीमानलाई बोलाएर तलाक दिन आदेश दिन्छ । श्रीमानले तलाक दिएमा सम्बन्ध विच्छेद भइहाल्छ । यसरी गरिने सम्बन्ध विच्छेदलाई खुला भनिन्छ ।
श्रीमानले तलाक दिन अस्विकार वा अटेर गरेमा काजीले आफ्नो अधिकार प्रयोग गरेर सम्बन्ध विच्छेद गराइदिन सक्ने प्रावधान छ । यस तरिकाबाट गरिने सम्बन्ध बिच्छेदलाई फस्ख भनिन्छ ।
इस्लामका धर्मगुरु र जानकारहरु इस्लामी शिक्षाको अभाव, समाजमै देखिएका विकृती, देखासिकी, सूचना प्रविधिको सञ्जाललाई गलत तलाकको मूख्य कारक ठान्छन ।

तल्लोस्तरका जनतामा इस्लामी शिक्षाको अभाव, गरीबी र देखासिकी भएकाले यस्तो क्रियाकलाप बढेको इस्लामका जानकार मोहम्म्द रहिश शाहले बताउनुभयो । पछिल्ला दिनमा तराईका विभिन्न जिल्लामा भएका घटनाहरु हेर्ने हो भने अधिकांश तलाक र दाईजोसँग जोडिएको देखिन्छ । इस्लामले दाइजोलाई गैर इस्लामी प्रथा भनेको शाहको भनाई रहेको छ । दाईजोको विषयले खासगरी तराईका जिल्लामा महिलामाथि हिंसाका घटना बढेको छ । दाइजोकै विषयलाई लिएर तलाक र आगो लगाएर हत्या गर्नेसम्मका घटनाहरु बारम्बार दोहोरिने गरेको छ ।

इस्लाममा दाइजो
इस्लामले दाइजो भन्दा मोहरलाई वैध मानेको छ । विहे हँुदा केटापक्षले केटीपक्षलाई दिने विशेष धन मोहर हो । जुन निकाहअघि केटीकै हातमा दिईन्छ । त्यो नगद मुद्रा वा गहना हुन सक्छ ।
पहाडी जिल्लाका मुस्लिममा भने नगद रकम नै दिने प्रचलन छ । मोहर केटी पक्षको हक हो । मोहरको यति नै हुनुपर्छ भन्ने छैन । मोहर केटापक्षको आर्थिक हैसियत अनुसार हुनुपर्छ । केटापक्षले केटीपक्षलाई मुद्राको रूपमा र कहिलेकाहिँ गहनाको रूपमा मोहर दिन्छन । यो मोहर नगद नै दिनु राम्रो मानिन्छ । केहीले उधारो पनि राख्छन् ।

पछिल्ला दिनमा कपिलवस्तु, बाँके, बर्दिया, पर्सा, महोत्तरी, सुनसरी लगायत तराईका जिल्लामा गलत तलाकका घटनाहरु बढिरहेका छन ।
नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खानका अनुसार मुस्लिम महिलाबारे काम गरिरहेका विभिन्न संघसंस्थाका अधिकारी तलाकको समस्या समाधान गर्न मुस्लिम पारिवारिक कानुन आवश्यक ठान्छन् । तलाक दिएको महिलालाई अदालतले फिर्ता जान सक्छौ भनेर सफाई दिदै श्रीमानको घर फिर्ता गर्दिन्छ’ भन्छिन्, तर, इस्लामिक तरिका अनुसार तलाक भईसकेकी महिलालाई श्रीमानले राख्न मिल्दैन ।’ त्यही भएर पछिल्ला समयमा धेरै महिला यो समस्याबाट प्रताडित बनेका छन् ।

इस्लामिक व्यवस्था र सरकारी कानुन बाझिएकाले निकाह, तलाक र महिलाको सम्पत्तिको अधिकारका लागि पारिवारिक कानुन –पर्सनल ल अपरिहार्य भएको खानको ठहर छ । पारिवारिक कानुनमा निकाह –विवाह, तलाक र सम्पत्तिको अधिकारबारे स्पष्ट उल्लेख हुन्छ र त्यही विधि अनुसार समस्या सुल्झाईन्छ ।

छिमेकी मुलुकहरु भारत, पाकिस्तानमा अलग्गै पारिवारिक कानुन–‘पर्सनल ल को व्यवस्था छ । भारतमा करिब १५ करोड मुसलमानले विवाह, सम्बन्ध विच्छेद तथा अन्य पारिवारिक जीवन पारिवारिक कानुन अनुसार नै चलाउँछन । यस्ता विषयमा सरिया अदालतले निर्णय गर्ने गर्छ । नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्था मुलुकी देवानी सहिता २०७४ को परिच्छेद ३ बमोजिम व्यवस्था गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu