राष्ट्रिय सभा सदस्य बन्न कांग्रेसमा शीर्ष नेता नै आकांक्षी
नेपाली कांग्रेसमा राष्ट्रिय सभा सदस्य बन्न शीर्ष नेताहरु आकांक्षी देखिएका छन् । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित एक जना सहित २० जना सदस्यको कार्यकाल आगामी फागुनमा सकिंदैछ । १९ सदस्यका लागि ११ माघमा निर्वाचन तय भएको छ । त्यसअघि २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
सत्तारुढ दलहरुले गठबन्धन गरेरै चुनाव लड्ने भएकाले कांग्रेसको भागमा बढीमा ८/९ सांसद पर्ने सम्भावना छ । तर आकांक्षी भने योभन्दा निकै धेरै देखिएको नेताहरु बताउँछन्, जसमा वर्तमान तथा पूर्वपदाधिकारीहरु समेत छन् ।
पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र फरमुल्लाह मन्सुरलाई पनि आकांक्षीका रुपमा हेरिएको छ । सोधेको प्रश्नमा सहमहामन्त्री डिनाले आफू राष्ट्रिय सभा सदस्यको आकांक्षी नभएको बताएकी छन् । उनी गत वर्षको आम निर्वाचनमा मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेर पराजित भएकी थिइन् ।
अर्का सहमहामन्त्री मन्सुरको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि राष्ट्रियसभा सदस्यको आकांक्षीका रुपमा हेरिएको छ । अध्यक्ष बन्ने गरी सिटौला राष्ट्रियसभामा जान खोजेको कांग्रेसका नेताहरु बताउँछन् ।
सिटौलाले भने आफू निकटका नेताहरुलाई सभापतिसँग यो विषयमा कुनै कुराकानी नभएको बताउने गरेका छन् । ‘राष्ट्रिय सभाको उम्मेदवार बन्न कृष्ण दाइलाई अनौपचारिक प्रस्ताव आएको छ’, उनी निकट एक नेता भन्छन्, ‘अध्यक्ष बन्ने/नबन्ने भोलि छलफल हुने विषय हो ।’
पूर्वउपसभापति गोपालमान श्रेष्ठले त पार्टी सभापतिलाई भेटेर राष्ट्रियसभामा जान इच्छा राखेका छन् । प्रतिनिधिसभाको समानुपातिकमा रहेका उनको नाम आदिवासी जनजाति पुरुषमा पहिलो नम्बरमा थियो । श्रेष्ठले समानुपातिक सांसद हुन जोडबल गरे पनि सकेनन् । पुरुषतर्फ तीन जना मात्र पठाउन पाएको कांग्रेसबाट विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र जीवन परियार सांसद बने ।