काम खोज्दै ६ महिनामा साढे ३ लाख नेपाली विदेशिए, यूएई प्रमुख गन्तव्य
चालु आर्थिक वर्ष (आव) सुरुवाती महिनामा केही कम भएको रोजगारीका लागि विदेशिने क्रम हिउँदमा निरन्तर बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार यसपालि (आर्थिक वर्ष २०८०/८१) को पहिलो ६ महिना (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका छन् ।
विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या हो । यो संख्या अघिल्लो आव २०७९/८० को तुलनामा कम भए पनि यस वर्ष सुरुवाती महिनाको तुलनामा भने मंसिर र पुसमा उच्च दरले बढ्न थालेको देखिएको छ । गत आवको पहिलो ६ महिनामा ४ लाख १४ हजार ५ सय ४६ जना विदेशिएका थिए ।
विभागका अनुसार साउन २०८० मा काम खोज्दै ५५ हजार ५ सय ७५ विदेशिएकोमा पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । पुस २०८० मा जारी श्रम स्वीकृति २०७९ पुसको तुलनामा समेत धेरै हो ।