Connect with us
Kapilvast Forest

युवालाई स्वदेशमै रोक्न सरकारले नीति तथा कानुन बनाउँछ : गृहमन्त्री पाण्डेय

२०८०, १३ फाल्गुन आईतवारमा प्रकाशित

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले युवालाई रोक्न सरकारले बनाउने नीति र कानुन मात्रै पर्याप्त नहुने बताउनुभएको छ। उहाँले यसका लागि समाज र अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। सनसाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई भैरहवामा सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेयले यस्तो बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘‘युवालाई स्वदेशमै रोक्न सरकारले नीति तथा कानुन बनाउँछ। तर कानुनले मात्र युवा रोकिँदैनन्, यसका लागि समाज र अभिभावकको भूमिका आवश्यक छ। पैसाले व्यक्तिको मूल्याङ्कन र तुलना गर्नुहुँदैन। अभिभावकले निराशाका कुरा गर्दा त्यसले सन्तानमा पनि नकारात्मक असर पुग्छ।’’

उहाँले विदेश जाने मान्छे मात्र ठूलो र महान हुन्छ भन्ने जस्तो दृष्टिकोण तथा विचार बनाइएको भन्दै पैसाले व्यक्तिको तुलना र मूल्याङ्कन गर्न नहुने बताउनुभयो।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता रहनुभएका मन्त्री पाण्डेयले सकारात्मक सोच विश्वको लागि सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो। उहाँले सकारात्मक सोचका साथ अघि बढे मात्र जीवनको लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो। मन्त्री पाण्डेयले नकारात्मक सोच र परनिर्भरताबाट माथि उठ्न आग्रह गर्नुभयो। उहाँले लागूऔषध दुर्व्यसनीमा फसेका युवालाई दुर्व्यसनबाट टाढा राख्न र समाज निर्माणमा लगाउन सरकारले जनचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिनुभयो।

मन्त्री पाण्डेयले भन्नुभयो, ‘‘हामी गौतमबुद्धको जन्मस्थल पवित्रभूमि लुम्बिनीमा छौं। भगवान बुद्धको मूल मन्त्र अप्पदिपो भवः अर्थात् आफ्नो दीप आफैं बन्नुपर्छ।’’ उहाँले लुम्बिनीको विकासमार्फत मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताउनुभयो।

मन्त्री पाण्डेयले लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादनको ब्राण्डिङ र बजारीकरणमार्फत दुई लाख युवालाई रोजगारी दिने नीति तथा कार्यक्रम बनाएको बताउनुभयो। उहाँले नयाँ नेपाल नभइ व्यवस्थित नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu