Connect with us
Kapilvast Forest

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

२०८१, १ जेष्ठ मंगलवारमा प्रकाशित

प्रहलाद यादव,लुम्बिनी-
लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन समितिले लुम्बिनीको संरक्षण तथा विकासका लागि भन्दै एक अध्ययन प्रतिवेदन प्रस्ताव गरेको छ ।

लुम्बिनी बिकास कोषद्वारा बैशाख ६ गते गठित सो अध्ययन समितीले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भएका विभिन्न अनियमित क्रियाकलापलाई व्यवस्थित गर्ने गरी तत्काल कार्यान्वयनका लागि १२ बुँदे योजना बनाइ कोषाध्यक्ष ढुण्डीराज भट्टराइलाइ बुझाएको लुम्बिनी बचाउ संघर्ष समितीका संयोजक राम बिकास चाैधरीले बताउनु भएको छ ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले लुम्बिनीको पवित्रता र सम्पदास्थलको संरक्षण गर्नुपर्नेमा जोड दिदै लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराइ मार्फत बुझाइएको प्रतिवेदनमा विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिरलाई अनाधिकृत फेरबदल वा पुनर्निर्माणबाट जोगाउनुपर्नेमा जोड दिइएको बताउनुभयो ।


यसबाहेक, समितिले धार्मिकस्थलमा आध्यात्मिक अभ्यासहरू प्रवर्द्धन गर्न नियमित पूजा उपासनाको महत्वलाई जोड दिँदै आध्यात्मिक कार्यक्रमहरू प्रस्ताव गरेको समितीका अर्का सदस्य मेघनाथ आचार्यले बताउनुभयो, उहाँले भन्नुभयो, “यसले लुम्बिनीमा धार्मिक तथा अध्यात्मिक वातावरण कायम राख्नका लागि कार्यविधि बनाइ लागू गर्नुपर्नेमा जोड दिईएको छ ।”
समितीले उत्खननका समय मन्दिर परिसरभित्र रहेका बहुमूल्य धार्मिक तथा सांस्कृतिक कलाकृतिहरूको खोज तथा संरक्षण गर्न आग्रह गरेको छ, उहाँले भन्नुभयो ।

सम्बत २०६२ सालको रिट नं.२४५४ उत्प्रेषणयुक्त प्रतिशेध परमादेश मुद्दामा भएको सर्वोच्च अदालतको आदेश बमोजिम मायादेवी मन्दिर प्रवेश शुल्क हटाउने गरी आम्दानीका वैकल्पिक उपाय खोज्न बूँदा नं. ६ मार्फत समितिले सुझाव दिएको छ ।

त्यसैगरि लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पञ्चशीलका सिद्धान्तलाई कडाइका साथ कार्यान्वयन गर्न पनि यसले बूँदा नं. ७ मार्फत लुम्बिनी बिकास कोषको कार्यकारिणी समितीलाइ सिफरिस गरेको छ ।
ध्वनी प्रदूषण न्यूनीकरणका लागि समितिले गुरुयोजना क्षेत्रभित्र ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने र ठूला सवारी साधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसले स्थानीय लुम्बिनी साँस्कृतिक नगरपालिकालाई आम्दानीको दश प्रतिसत रकम सामुदायिक विकासका लागि विनियोजन गर्न पनि सिफारिस गरेको छ ।

अध्ययन समितिले गुरुयोजना क्षेत्रभित्र रहेको महेन्द्र स्तम्भ र रानीबगैचा जस्ता ऐतिहासिक स्थलको संरक्षण र सौन्दर्यीकरण गर्न तथा लुम्बिनी सङ्ग्रहालय र प्राचीन मायादेवी सुत्केरी मार्गलाई ब्यवस्थित गरि प्राथमिकताका साथ संचालनमा ल्याउने प्रस्तावलाइ तत्कालका कार्यान्वयनमा ल्याउन बूँदा नं. ११ र १२ मार्फत प्रस्ताव गरेको अध्ययन समितीका सदस्य तथा लुम्बिनी पर्यटन ब्यवसायी संघका अध्यक्ष हुसेनी लोधले बताउनुभयो ।

सो योजना प्रस्ताव बुझदै लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बुद्धजन्मस्थल लुम्बिनीको संरक्षण तथा प्रवर्धनका लागि अध्ययन समितीले बुझाएको प्रतिवेदनको महत्व रहेको विश्वास व्यक्त गर्दै धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वको जीवन्त धरोधरस्थल लुम्बिनीको दिगो विकास र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu