Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ‘आईपिभि’ खोप अभियानको शुभारम्भ

२०८१, १३ जेष्ठ आईतवारमा प्रकाशित

नारद कोहार
तौलिहवा (कपिलवस्तु), कपिलवस्तुको दश स्थानीय तहमध्ये सात स्थानीय तहमा पोलियो रोग विरुद्धको आईपिभि खोप अभियानको शुभारम्भ गरिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा एक कार्यक्रममा आयोजना गरी खोपको शुभारम्भ गरिएको हो । जिल्लाका ३१ हजार ४ सय ६७ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइने छ ।

पाँच वर्ष मुनिका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म सम्बन्धित पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकृत दिपाकर महर्जनका अनुसार २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप अभियान सञ्चालन गरिएको बताउनुभयो । खोप लगाउन ६ सय ९६ वटा खोप केन्द्र निर्धारण गरिएको उहाँको भनाई छ ।

नेपालमा २०७३ जेठदेखि २०७५ असोजसम्म आईपीभी खोपको अभाव भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीका अनुसार जिल्लाको कपिलवस्तु, शिवराज, महाराजगन्ज, बाणगंगा, कृष्णनगर, बुद्धभुमि नगरपालिका र विजयनगर गाउँपालिकामा जेठ १३ गते देखि र यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा जेठ १६ गते देखि खोप लगाइने बताउनुभयो ।

खोप अभियानका लागि जिल्लामा दुई सय स्वास्थ्यकर्मी र १३ सय ९२ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।