योजना आयोगका उपाध्यक्ष खनालद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
सनिउल्ला धोबी, कपिलवस्तु-
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष सरोज खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले लुम्बिनी प्रदेशलाई सबैको सहयोगमा समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताउनु भयो । उहाँले लुम्बिनी प्रदेश लाई विकास निर्माणको हिसाबले एक नम्बर बनाउन सबैको सहयोग आवश्यक रहेको जानकारी दिनुभयो । मुख्यमन्त्री महराले भन्नुभयो लुम्बिनीलाई सबैको सहयोगमा अब अघी बढनु पर्छ ।
मुख्यमन्त्री महराले स्थानीय उत्पादनलाई बढाउने, रोजगारी सृजना गर्ने र करको दायरा बढाउने विषयमा प्रदेशको आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने जानकारी दिनुभयो ।
प्रदेश योजना आयोगका नव नियुक्त उपाध्यक्ष सरोज खनालले प्रदेशको आर्थिक विकासका लागि साना तथा घरेलु उद्योगहरूको प्रवर्द्धन र रैथाने आर्थिक गतिविधिका क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अघि बढाउन आवश्यक रहेको बताउनुभयो । सबै सरकारी निकाय, निजी क्षेत्रलगायत सरोकारवाला पक्षहरूसँगको छलफल र सहयोगमा प्रदेशको आर्थिक अवस्था सुधारका लागि प्रयत्नशील रहने उप्रेतीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शपथ ग्रहण कार्यक्रममा प्रदेशका सचिवहरू, प्रदेशसभा सदस्यहरू, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।