बेलायती संरक्षणकर्मीको स्मृतिमा जगदीशपुर तालमा चरा अवलोकन
मनोज पौडेल
कपिलवस्तु- विश्वकै अगुवा संरक्षणकर्मी बेलायती नागरिक किथ हाउम्यानको स्मृतिमा पंक्षी आरक्ष जगदीशपुर तालमा चरा अवलोकनसंगै श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।
विश्व फिजेन्ट (कालिज प्रजातिका चरा) एशोसिएसनका संस्थापक अध्यक्ष हाउम्यानको ८९ वर्षको उमेरमा १७ मार्च २०२४ मा निधन भएको थियो । उनको बुधवार विश्बभरि श्रद्धान्जली सभा गरिएको छ । उनी विश्वमा पाईने ५२ प्रजातिको फिजेन्ट चरा संरक्षण र अनुसन्धानमा ४५ वर्षदेखि काम गर्दै आएका थिए ।
उनले ५२ वटै फिजेन्ट प्रजातिका मोनोग्राफ बनाएका छन् । धेरै पुस्तक पनि लेखेका छन् । 
हाउम्यानको स्मृतिमा जगदीशपुर तालमा चरा अवलोकन गरियो । विश्व फिजेन्ट एशोसिएसनका सदस्य तथा संरक्षणकर्मी लक्ष्मण पौड्यालको नेतृत्वमा संरक्षणकर्मी, संचारकर्मी र स्थानीयले दुई घण्टामा २६ प्रजातिका अवलोकन गरेका थिए । उक्त अवसरमा आयोजित श्रद्धान्जली सभामा स्व. हाउम्यानले संरक्षण क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।
श्रद्धान्जली सभामा विश्व फिजेन्ट एशोसिएसनका सदस्य लक्ष्मण पौड्याल, ओंत विषेशज्ञ सन्जन थापा र चराविद् दिलिप चन्दठकुरीले स्व. हाउम्यानले नेपालमा कालिज प्रजातिका चरा संरक्षणमा गरेको काम, सहयोग र योगदानको चर्चा गरेका थिए ।
नेपालमा काजिल प्रजातिका ८ प्रकारका चरा पाईन्छन् । जसमा मयुर, चीर, डाफे, मुनाल, कोक्लास, चिलिमे, कालिज र लुईचे छन् ।
यसमध्ये डाफे, मुनाल र चीर विश्वमै दुर्लभ तथा नेपालको संरक्षित पन्छी हुन् । नेपालमा कालिज प्रजातिका चरा एक हजार ३ सय मिटरदेखि ३ हजार ३ सय मिटरसम्म पाईन्छ ।