कपिलवस्तुको हर्दौनावासी नदी कटानको उच्च जोखिममा
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १० हरदौना गाउँ बाणगंगा नदि काटनको उच्च जोखिममा परेको छ । वाणगंगा नदीको कटानका कारण हरदौनाका बासिन्दा त्रसित बनेका हुन् ।
लगातारको पानीको बहावले गर्दा हर्दौना गाउँ उच्च जोखिममा परेको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।
नगरमा न्यून बजेट भएकाले बाणगंगा नदिमा तटबन्ध बाधा निर्माणकार्य लागि विभिन्न मन्त्रालय धाएपनी कुनै सुनुवाई नभएको नगर प्रमुख कलामले बताउनु भयो ।
नगर प्रमुख कलामले भन्नूभयो “बाणगंगा नदीमा आएको बाढी काटन नियन्त्रणका लागि सबैको सहयोग र सहकार्य आवस्यक रहेको छ ।”
हरदौनासँगै यशोधरा गाउँपालिका– ८ खोरिया र कपिलवस्तु नगरपालिका–१२ अकबरपुर, गाउँका बासिन्दाहरु गाउँमा नदी बस्ने त्रासले रातभरी जाग्राम बस्न बाध्य भएका छन् ।
गाउँलाई सुरक्षित गर्न नदीको विभिन्न ठाउँमा बनाइएको पक्की तटबन्ध नदीले बगाएपछि अहिले गाउँमा जोखिम बढेको हो । यस वर्षको बाढीले सबैभन्दा जोखिम हदौनामा रहेको स्थानिय मंगरे धावीले बताउनुभयो ।
बाणगंगा नदी कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको उहाँको भनाइ छ ।
हरदौनाका विजय प्रताप गुप्ताले भन्नुभयो, ‘‘बाढी आउँदा हामीलाई कसरी ज्यान बचाउने भन्ने चिन्ताले सताउँछ । यहाँका साढे सात सय घरपरिवार नदी कटानको चपेटामा परेका छन् । गाउँमा नदी पस्न अब केही मिटर मात्र बाँकी छ ।’’
यस वर्षको बाढीले नदीको पश्चिमतर्फ गाउँ नजिकै सय मिटर कटान गरेको स्थानिय गुप्ताले बताउनुहुन्छ । हरदौनाका शिवपुजन गोडाइत र निरहु गोडाइतको घरमा नदी पसेपछि उनीहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी अन्यत्र सुरक्षित स्थानमा सारेको छ ।
नदी कटानले हरदौनाका हजारौं बिगहाभन्दा बढी खेतसमेत नदीले बगर बनाएको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् सहायता कक्षका संयोजक भविश्वर घिमिरेका अनुसार हरदौनामा दुई वटा घर उच्च जोखिममा रहेको र त्यसलाई अन्तै स्थान्तरण गरिसकेको जानकारी दिनुभयो ।
उहाँले वाणगंगा नदी छेउ रहेको गाउँ बस्तीका बासिन्दाहरुलाई सजग रहन आग्रह समेत गरेको बताउनुभयो ।