ठेकेदारको लापरवाहीले महाराजगन्जमा निर्माणाधीन अस्पतालको पर्खाल भत्कियो
कपिलवस्तु– कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा निर्माणाधीन १५ शैय्याको अस्पतालको पर्खाल भत्किएको छ। असारको तेस्रो साता आएको वर्षाले निर्माणाधीन पर्खाल भत्किएको हो। स्थानीय स्रोतका अनुसार ठेकेदारको लापरवाहीका कारण पर्खाल भत्किएको हो।
निर्माणाधीन अस्पतालको पर्खाल भत्किँदा अस्पतालको गुणस्तरीयता र सुरक्षा सम्बन्धमा गम्भीर प्रश्न खडा भएको छ। पर्खाल भत्किदा स्थानीय बासिन्दाहरुले अस्पतालको निर्माणकार्यमा ध्यान दिन ठेकेदार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
२८ करोडको ठेक्का आह्वान गरिएकामा टेन्डर प्रक्रियामा कुमार रोयल जेबीलोई १५ करोड ४६ लाखमा भवन निर्माणको ठेक्का परेको हो। लिफ्ट सिस्टममा अपांगता मैत्री, ३ तले र २९ कोठे भवन १२ सय स्क्वायर फिटमा भवन बन्नेछ। अप्रिल २०२४ मा भवन निर्माणका कार्य सम्पन्न हुने सम्झौता रहेको थियो।
महाराजगन्ज नगरपालिकाले ठेकेदारलाई भत्किएको पर्खाल पुनः निर्माण गर्न आग्रह गरेको छ। स्थानीय बासिन्दा र सरोकारवाला निकायहरुले यसबारेमा तत्काल छानबिन गरी दोषी ठेकेदारलाई कारबाही गर्न माग गरेका छन्।
अस्पतालको पर्खाल भत्किनु जस्ता घटनाले अस्पतालको निर्माण कार्य समयमै र गुणस्तरीय रुपमा सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन्।