विद्यार्थीको रोजाइ बन्दै कपिलवस्तु टेक्निकल ईन्स्टिच्युट
न्युज सेन्टर नेपाल-
कपिलवस्तु टेक्निकल ईन्स्टिच्युट उत्कृष्ट शैक्षिक वातावरण र व्यावहारिक सीपमूलक शिक्षाका कारण विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ। आज शैक्षिक सत्रका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बोल्नेले
यो शैक्षिक संस्था लुम्बिनी प्रदेशको उत्कृष्ट प्रतिष्ठान रहेको बताएका थिए । कार्यक्रममा सहभागी नयाँ विद्यार्थीहरूले यस संस्थामा भर्ना भएपछि आफूहरूले उच्च गुणस्तरीय शिक्षा प्राप्त गर्ने अपेक्षा व्यक्त गरे।
स्वागत कार्यक्रममा प्रमुख अतिथिका रूपमा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले सीपमूलक शिक्षाको महत्त्वबारे प्रकाश पार्नुभयो ।
उहाँले वर्तमान समयमा रोजगार र आर्थिक समृद्धिको लागि सीपमूलक शिक्षा अत्यावश्यक रहेको बताउनुभयो। उहाँले प्रविधिमा आधारित शिक्षाले मात्र व्यक्तिको आर्थिक स्थिति सुदृढ गर्ने र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रशासकीय अधिकृत पुनीत कुमार मिश्र, कोअर्डिनेटर हरि बहादुर थारु, र अभिभावक प्रतिनिधि मोहम्मद हुसेनले पनि आफ्ना विचार राख्नुभयो ।
उहाँहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। स्वागत मन्तव्य प्रशिक्षक यदुराम पौडेलले गर्नुभएको थियो भने प्रस्तुतीकरण प्रिन्सिपल अर्जुन पौडेलले गर्नुभयो।
प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका अरुण कुमार पाण्डेयको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन लेखा प्रमुख नन्दराम पौडेलले गर्नुभयो।
वि.सं. २०५४ सालमा स्थापित कपिलवस्तु टेक्निकल ईन्स्टिच्युटले आफ्नो स्थापनाकालदेखि नै स्वास्थ्य शिक्षाका क्षेत्रमा लुम्बिनी प्रदेशमा उच्च पहिचान बनाउँदै आएको छ ।
हाल यस प्रतिष्ठानमा एच.ए., ल्याब टेक्नोलोजी, फिजियोथेरापी, र अमिन विषयहरूको अध्यापन गराइँदैछ भने निकट भविष्यमा फार्मेसी विषय पनि थप्ने तयारीमा रहेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।
कार्यक्रममा ९० भन्दा बढी विद्यार्थी र अभिभावकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। यस प्रतिष्ठानले विद्यार्थीलाई गुणस्तरीय शिक्षा र व्यावहारिक अनुभव प्रदान गर्न निरन्तर प्रयास गरिरहेको छ, जसका कारण दिनानुदिन विद्यार्थीहरूको विश्वास जित्दै आएको छ।