कपिलवस्तुमा रोटरी क्लबद्वारा लागुऔषध दुर्व्यसन नियन्त्रण अभियान
न्युज सेन्टर नेपाल-
कपिलवस्तु, शिवराज नगरपालिका वडा नम्बर १ स्थित नेपाल आदर्श माध्यमिक विद्यालय र शिवगढी इङ्गलिस स्कूलमा रोटरी क्लब अफ कपिलवस्तुको आयोजनामा स्वास्थ्य सचेतना अभियान सम्पन्न भएको छ। विशेष गरी लागुऔषध दुर्व्यसनको नियन्त्रणमा केन्द्रित यो अभियानले समुदायमा जनचेतना फैलाउने उद्देश्य राखेको थियो।
रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष बालकृष्ण पाण्डेयले अभियानले लागुऔषध दुर्व्यसनको नकारात्मक असरबारे समुदायमा महत्त्वपूर्ण जनचेतना फैलाएको बताउनुभयो। उहाँका अनुसार, यस अभियानले विशेषगरी युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउन र लागुऔषधको कुलतबाट टाढा रहन प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
शुक्रवार भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ कपिलवस्तु र इन्टर्याक्ट क्लब अफ शिवगढीले समर्थन प्रदान गरेका थिए भने लागुऔषध रोकथाम अभियान नेपालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। कार्यक्रमका क्रममा लागुऔषध रोकथाम अभियान नेपालका लुम्बिनी प्रदेश संयोजक बसन्त पुनले विशेष प्रस्तुति दिनुभएको थियो।
यस अभियानले समुदायमा स्वास्थ्यसम्बन्धी जानकारी पुर्याउनुका साथै, विशेष गरी युवाहरूलाई लागुऔषध दुर्व्यसनको असरबाट जोगिन सचेत गराउने उद्देश्य सफलतापूर्वक पूरा गरेको छ।