मायादेवीमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धि छलफल
कपिलवस्तुको मायादेवी गाउँपालिकामा हालै पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालासँगको बैठक र छलफल कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमलाई कालिका सामाजिक स्वालाम्बन केन्द्रको सहकार्यमा, आइडी नेपाल र हेलन किलरको प्राविधिक सहयोगमा, तथा मायादेवी गाउँपालिकाको समन्वयमा आयोजित गरिएको हो।
यस कार्यक्रम पोषण मार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत सञ्चालन गरिएको थियो। कार्यक्रमको प्रमुख उद्देश्य गाउँपालिकामा पोषण र सरसफाइका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु हो, जसको जानकारी परियोजना निर्देशक अमित मिश्राले दिएका छन्।
बैठकमा मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दिन खानले नसर्ने रोगहरूमा वृद्धि भएको तर सर्ने रोगमा कमी आएको स्थितिमा, सबै सरोकारवालाहरूले नसर्ने रोगहरू र पोषणको अभावका कारण उत्पन्न रोगहरूको समाधान गर्न सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। साथै, उनले पोषण र सरसफाइको क्षेत्रमा सञ्चालन गरिने कार्यक्रमहरूको सफलताको शुभकामना समेत व्यक्त गरे।
अध्यक्ष खानले मध्यम शिघ्र कुपोषणबाट कडा शिघ्र कुपोषणसम्मको अवस्था पुग्न नदिन विशेष ध्यान दिनुपर्ने जानकारी दिएका छन्। परियोजनाको शुरुवातमा यसले पालिकामा कस्ता कार्यक्रमहरू सञ्चालन गर्नेछ भन्ने विषयमा पनि सरोकारवालाहरूलाई जानकारी गराइएको थियो। यस छलफल कार्यक्रममा पोषण प्रवर्द्धनका क्षेत्रहरूमा आगामी दिनमा विशेष ध्यान दिने योजना प्रस्तुत गरिएको छ।