कपिलवस्तुको शिवराज कृषि सहकारीको ९औं साधारण सभा सम्पन्न
केर सिंह अदैं– कपिलवस्तुको शिवराज कृषि सहकारी संस्था लिमिटेडको ९ औं साधारण सभा सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगर पालिका वडा नं ३ खरेन्द्रपुरमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष केर सिंह अदैको अध्यक्षतामा सम्पन्न भएको हो ।
साधारणसभाको प्रमुख अतिथिको रूपमा शिवराज नगरपालिकाका प्रमुख अजय थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । थापाले सदस्यहरुलाई उत्पादनमा केन्द्रित हुन सुझाव दिँदै, सहकारीबाट ऋण लिएर अनावश्यक खर्च गर्दा घरको व्यवस्थापन बिग्रनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
विशिष्ट अतिथि शिवराज नगर पालिका वडा नं ३ का अध्यक्ष टेक लाल सापकोटाले संस्थाले मलखाद बिक्री वितरण, कृषकहरूलाई बचत गर्न सिकाउने, आईएमई सेवा प्रदान गर्ने र तरकारी संकलन केन्द्र सञ्चालन गर्ने कार्यलाई सफलतापूर्वक अघि बढाएको चर्चा गर्नुभयो ।
उहाँले तरकारी संकलन केन्द्रलाई अझ व्यवस्थित बनाउनुपर्ने धारणा राख्दै, उत्पादन भन्दा बढी खर्च गर्ने प्रवृत्ति रोक्न ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
कृषि विकास अधिकृत शान्ति माया अधिकारीले किसानलाई बीउ, अनुदान, औजार, र तालिम प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
यसैगरी, संस्थाका अध्यक्ष केर सिंह अदैले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै, संस्थाले ७५ लाख बराबरको ऋण कारोबार, ११ लाख बराबरको मलखाद बिक्री, र २ लाख बराबरको बीउ भिजन कारोबार गरेको जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन नवराज पौडेलले र स्वागत टिक माया भण्डारीले गर्नुभएको थियो । माध्यम वर्गका किसानहरू संलग्न रहेको यस संस्थाले मलखाद, बीउ भिजनको कारोबार गर्नुका साथै कृषकहरूलाई तालिम र सहुलियत ऋण प्रदान गर्दै आएको छ ।