युवानेता गुप्ता लुम्बिनी प्रदेशको नीति निर्माण विभागमा मनोनित
न्युज सेन्टर नेपाल– नेपाली काँग्रेसको लुम्बिनी प्रदेश समितिले कपिलवस्तु जिल्ला शिवराज निवासी युवानेता विशाल गुप्तालाई पार्टीको दक्ष जनशक्ति निति निर्माण विभागमा मनोनित गरेको छ । नेपाली काँग्रेस विधान, २०७१ (संशोधनसहित) को धारा ४ को उपधारा १३ अनुसार गुप्तालाई पार्टीको नीति निर्माण समितिमा समावेश गरिएको हो ।
विशाल गुप्तालाई यो जिम्मेवारी प्रदान गर्नु पार्टीले उनको लामो समयदेखि पार्टीप्रतिको योगदान र उनीसँग रहेको अनुभवको उच्च मूल्याङ्कन भएको कांग्रेसका नेतहरुले जनाएका छन ।
गुप्ताले यसअघि पनि नेपाली काँग्रेसमा विभिन्न तहमा सक्रिय रूपमा काम गर्दै आएका थिए र पार्टीको नीति निर्माण र निर्देशनमा विशेष भूमिका निर्वाह गरेका थिए । यो मनोनयनसँगै उनले लुम्बिनी प्रदेशका लागि नेपाली काँग्रेसको आगामी नीति र कार्यक्रम निर्माणमा थप योगदान पुर्याउने अवसर पाउनेछन् ।
गुप्ताको मनोनयनको घोषणा गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बधाई दिनुभएको छ । पुनले गुप्ताले नेपाली काँग्रेसको नीति निर्माणको कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने र सफलतापूर्वक आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
विशाल गुप्ताको नियुक्ति कपिलवस्तु लगायत लुम्बिनी प्रदेशभरिका कार्यकर्ताहरूबीच हर्षको विषय बनेको छ । स्थानीयस्तरमा लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका गुप्ताले आफ्नो नियुक्तिलाई पार्टी र जनताको सेवाका लागि ठोस कदमको रूपमा लिएका छन् ।
उनले आफ्नो प्रतिक्रिया दिँदै भने, “म नेपाली काँग्रेसले मलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेकोमा आभारी छु। म पार्टीप्रतिको आफ्नो दायित्वलाई सम्पूर्ण इमानदारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
विशाल गुप्ताको यो मनोनयनसँगै पार्टीले आगामी दिनमा नीति निर्माणको प्रक्रियामा स्थानीय कार्यकर्ताहरूको प्रत्यक्ष संलग्नता र योगदान सुनिश्चित गर्ने प्रयास गरिरहेको छ । लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको सुदृढ संगठन निर्माण र आगामी निर्वाचनका लागि ठोस तयारी गर्ने क्रममा गुप्ताको यो भूमिकाले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
