त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए। महानिर्देशक अधिकारीले सो कामको योजना करिव ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो। उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए।
हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ। महानिर्देशक अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिव २ अर्ब नोक्शान पर्ने भएपनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम शुरु गर्नुपरेको उल्लेख गरे।
समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पारे। ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताए।
महानिर्देशक अधिकारीले भने, ‘जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा हामीले रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ। यो रनवेमा जहाजले बढी समय लिन्छ। यो ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वे मा निकालेर एप्रोनमा ल्याउँछौँ। त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घटने भयो। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने हाम्रो फोरकाष्ट छ। अहिले गर्न लागेको ठ्याक्कै के हो भने प्यारालल ट्याक्सी वे बनाउने र त्यसलाई रन वे मा जोड्नु प¥यो। त्यो रनवेमा जोडने ठाउँमा अहिले हामीले खनेर टयाक्सी वेसम्म लिएर आउने हो। त्यहाँ हामीले खन्नु प¥यो। भोलीपल्ट फेरि बिहान फ्लाइट हुने बेलासम्म रनवेको दायाँबायाँ ७५ मिटर त फेरि सम्म जमिन नै देखाउनु प¥यो। भनेपछि खन्नुप¥यो। त्यसपछि माटो त्यहाँ फिल गर्नुप¥यो। बेस फिल गर्नुप¥यो। त्यसपछि पिच गर्नुप¥यो । भोलीपल्ट हामीले रनवे पनि क्लियर गर्नुप¥यो। होइन भने आईकाओको स्टान्टर्ड भित्र नपर्ने भएकाले भोलीपल्ट हामीले एयरपोर्ट फेरि खोल्न सक्दैनौँ। त्यस कारण हामीलाई मिनिमम १० घण्टा चाहिन्छ भन्ने हाम्रो क्याल्कुलेशन हो। त्यो क्याल्कुलेशनअनुसार हामीले एयरपोर्ट ५ महिनाका लागि बन्द गरेको हो। यो १० घण्टा किन गर्नुभयो, ८ घण्टा किन गर्नुभएन रु भन्ने प्रश्न पनि छ। १० घण्टा बन्द गर्दा यो ५ महिनामा सकिन्छ। यो वीन्टर सेडयुलमा सिद्ध्याउने हाम्रो टार्गेट छ। यसलाई १० को ठाउँमा ८ घण्टा लिएर आयो भने के हुन्छ भने ७ महिना बढी जान्छ । यसले अर्को समर सेड्युललाई पनि असर ग¥यो। अहिले नोभेम्बरको १५ दिन हामीलाई अलि बढी असर गर्छ नै। किनभने नोभेम्बरको २०÷२५ सम्म हामी हाम्रो सिजन हो। त्यसपछि डिसेम्बर, जनवरी, फेब्रुअरी काठमाडौँ र तराईका अन्य विमानस्थलमा पनि हुस्सुका कारण धेरै फ्लाइट हुने होइन। मनसुनमा हामी यो काम गर्न सक्दैनौ। यस कारण यो नै उपयुक्त समय हो भनेर हामीले १० घण्टा बन्द गरेर यो काम सकाउन लागेको हो।’
प्राधिकरणले सो स्तरोन्नतिको कामले वाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ। महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए। उनले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिव ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए।
महानिर्देशक अधिकारीले भने, ‘आन्तरिक उडान पनि कम्तीमा ३० प्रतिशत कटौती हुन्छ। तर डोमेस्टिक एयरलाईन्सँग पनि हामीले प्रशस्त छलफल गरेका छौँ। उहाँहरू एकदमै सकारात्मक हुन्छ। यो बनिसकेपछि एयरर्पोटको इफिसेन्सी नै अर्को हुन्छ नि। यो वर्षेदेखि पाइलटले खोजेको कुरा हो नि । यो विषयमा उहाँहरूको पूर्ण समर्थन छ। ३ वटा अन्तर्राष्ट्रिय वायु यान उडान भर्ने प्रतिवद्धता आएको छ। भैरहवाबाट ३ वटा वायु यानले आफ्नो उडान निकट भविष्यमा नै शुरु गर्नेछन्।’