Connect with us
Kapilvast Forest

गुमेको दृष्टि फर्किदाँ महाराजगन्जका ज्येष्ठनागरिक खुसी

२०८१, १ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९,शान्तीनगरमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरले गुमेको दृष्टि फर्काइदिँदा यहाँका वृद्ध वृद्धा द‌ंग छन् ।

आर्थिक अभावले शल्यक्रिया गराउन नसकिरहेका ८४ वर्षीय झिन्कन यादवले गुमेको ज्योति फेरि पाउँदा आफूले नयाँ जीवन पाएको बताए । ‘१० वर्षदेखि आँखा नदेख्दा संसार नै अँध्यारो लागेको थियो । अब भने नयाँ जीवन पाएको अनुभव भइरहेको छ,’ यादवले भने ।
यस्तै, महराजगञ्ज नगरपालिका-९ की ७० वर्षीया मुर्ता अहिरले घरमै उपचार सेवा पाउँदा अत्यन्तै खुशी लागेको बताइन् ।

उनले भने, ‘मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाउँदा खुसीले आँसु रोक्न सकिनँ। गुमेको आँखाको ज्योति फिर्ता पाएपछि बचेको जीवन अझै राम्रोसँग जिउन पाउने भएँ ।’
शिविरमा १ सय ५५ जनाको मोतियाबिन्दुको सफल अप्रेसन गरिएको छ। गरिब, विपन्न, एकल, असहाय तथा दैनिक मजदुरी गर्ने नागरिकका आँखा जाँच र शल्यक्रिया गरिएको थियो ।

माहोम्मद इस्लामिक विद्यालय, शान्तिनगरमा आयोजित शिविरमा ६ सय ३३ जनाको आँखा जाँच गरिएको थियो । महराजगञ्ज नगरपालिकाको आयोजना, छन्दकाले बाबु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोग र रुईत फाउन्डेशनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा चस्मा र औषधि समेत निःशुल्क वितरण गरिएको छ ।

महराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाँका अनुसार वृद्धवृद्धा र विपन्न वर्गलाई लक्षित गरी नगरपालिकाभित्रै निःशुल्क सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । उनले भने, ‘नगरवासीलाई प्रतिबद्धताअनुसार सेवा दिएका छौं ।

वृद्धवृद्धाको खुशी देख्दा उनीहरूबाट आशीर्वाद पाएको अनुभव हुन्छ।’
मेयर खाँले विगत २० वर्षदेखि प्रत्येक वर्ष विभिन्न वडामा यस्ता शिविर सञ्चालन गर्दै आएको बताए । शिविरमा पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य, उपमेयर रीता कुमारी कुर्मीले समेत लाभग्राहीहरूसँग खुशी साटासाट गरेका थिए ।

सांसद आचार्यले शिविरले गरिब र विपन्नलाई ठूलो राहत दिएको उल्लेख गरे । शिविरमा डा. सुलक्ष्मी कटुवालको नेतृत्वमा १७ सदस्यीय टोलीले आँखा जाँच र शल्यक्रिया गरेका थिए । कार्तिक ३० र मंसिर १ गते सञ्चालन भएको शिविरमा लाभग्राहीले आँखाको ज्योति फर्काएपछि आयोजकप्रति आभार व्यक्त गरेका छन्।