६५ लाखको खेलमैदान सुनसान, विद्यालयको सानो चौरमा खेल प्रतियोगिता
न्युजसेन्टर नेपाल-
कपिलवस्तुको विजयनगर गाउँपालिकाले ६५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खेलमैदानलाई बेवास्ता गर्दै एउटा विद्यालयको सानो चौरमा खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ ।
विजयनगर गाउँपालिकाले वडा नं. ६ स्थित हरिबोध आधारभूत विद्यालयमा अन्तर विद्यालय स्तरीय आधारभूत तहको खेलकुद प्रतियोगिता आयोजना गरेको हो। तर, राज्यको ठूलो लगानीमा निर्माण भएको खेलमैदान प्रयोग नगरी विद्यालयको सानो कम्पाउण्डमा खेल सञ्चालन गरिएको भन्दै स्थानीयवासी असन्तुष्ट भएका छन् ।
स्थानीयले गाउँपालिकाको शिक्षा शाखाले एकलौटी निर्णय गरी खेलमैदानलाई बेवास्ता गरेको आरोप लगाएका छन ।
“६५ लाखको मैदान हुँदाहुँदै विद्यालयको सानो चौरमा खेल सञ्चालन गर्नु अचम्मको कुरा हो,” एक जना जनप्रतिनिधिले प्रतिक्रिया दिए ।
शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेले वडा नं. ४ मा रहेको खेलमैदानलाई बेवास्ता गर्दै आफ्नै इच्छामा खेलकुद प्रतियोगिता हरिबोध विद्यालयमा आयोजना गरेका छन् ।
जनप्रतिनिधिहरूले यसप्रति असन्तुष्टि जनाउँदै शिक्षा शाखाले कुनै सल्लाह नै नगरी खेल आयोजना गरेको गुनासो गरेका छन् ।
यसअघि विजयनगर गाउँपालिकाले वडा नं. ४ मा रहेको खेलमैदानमा विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको थियो । तर, यस पटक राज्यको लगानीबाट बनेको खेलमैदान प्रयोग नगरिनु विकास कार्यको अपमान भएको स्थानीयहरूको भनाइ छ ।
स्थानीयवासीले सामाजिक सन्जालमा खेलमैदानको उचित प्रयोग गर्न माग गरेका छन ।