Connect with us
Kapilvast Forest

सडक कार्यालय शिवपुर: १४ लाख भत्तामा झ्वाम, ४० लाख इन्धनमा खत्तम

२०८१, २३ पुष मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी–
कपिलवस्तु,— सडक डिभिजन कार्यालय शिवपुर कपिलवस्तुमा सरकारी रकमको व्यापक दुरुपयोग भएको खुलेको छ । कर्मचारीहरूले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पुस १५ गतेसम्म दैनिक भ्रमणका नाममा १४ लाख ४७ हजार ९ सय २३ रुपैयाँ भत्तामा खर्च गरेका छन ।

सूचनाको हक प्रयोग गरी माग गरिएको विवरणअनुसार, कार्यालयका कर्मचारीहरूले अन्धाधुन्ध रूपमा भ्रमण भत्ता लिएको देखिन्छ । यसले सरकारी बजेटको दुरुपयोग गरी कार्यालयमा लुटतन्त्रको झल्को दिएको छ ।

इन्धनमा ४० लाखको फजुल खर्च

सडक डिभिजन कार्यालय शिवपुरले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पुस महिनासम्मको १८ महिनामा इन्धनमै ३९ लाख ८३ हजार ६ सय ७१ रुपैयाँ खर्च गरेको छ । कार्यालयको स्वामित्वमा रहेको सवारी साधनमा यो रकम अस्वाभाविक रूपमा धेरै भएको विज्ञहरू बताउँछन ।

कार्यालयसँग अहिले पिकअप – २ थान, टिप्पर – १ थान, ट्र्याक्टर – १ थान, रोलर – १ थान, मोटरसाइकल – ११ थान, र स्कुटर – १ थान मात्र छन् । यस्तो सीमित सवारी साधनका लागि १८ महिनामा झन्डै ४० लाख इन्धन खर्च गर्नु शंकास्पद भएको विश्लेषकहरूको भनाइ छ ।

व्यापक दुरुपयोगको आरोप

बिभिन्न विकास निर्माण कार्यको लागि छुट्याइएको बजेट सवारी साधन र भत्ताका नाममा फजुल खर्च गरिएको तथ्यांकले देखाउँछ । आर्थिक जानकारहरूले कार्यालयमा आर्थिक अनुशासनको अभाव रहेको र सरकारी स्रोतसाधनको ब्यापक दुरुपयोग भएको आरोप लगाएका छन ।

सरकारी कार्यालयहरूले सार्वजनिक बजेटको दुरुपयोग रोकी पारदर्शिता कायम गर्नुपर्ने आवाज उठ्न थालेको छ । यस्तै, सडक डिभिजन कार्यालय शिवपुरले सार्वजनिक गरिएको तथ्यांकबारे स्पष्टिकरण दिनुपर्ने मागसमेत गरिएको छ ।