कपिलवस्तु प्रहरीको सर्च अभियानमा २ सय ५९ जना पक्राउ
कपिलवस्तु
कपिलवस्तुमा ६ महिनामा २ सय ५९ फरार प्रतिवादी पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गर्दै प्रहरीले उनीहरुबाट २ सय १९ वर्ष कैद र २१ लाख ६० हजार ८७ रुपैयाँ जरिवाना रकम असुल उपर हुनेछ । कपिलवस्तु प्रहरीले अघिल्लो आर्थिक वर्ष भन्दा करिब दुई गुणा हाराहारीमै फरार प्रतिवादी पक्राउ गरेको हो ।
आर्थिक वर्ष ०८०÷०८१ मा कपिलवस्तुमा १ सय ३५ र ०७९÷८० मा ७२ फरार प्रतिवादी नियन्त्रण लिएको थियो । यो वर्ष डाँका तथा चोरी मुद्दाका २९, लागु औषधका १६, सवारी ज्यान तथा अङ्गभङ्गकाका १३, बहुविवाह तथा बाल विवाहका नौ, जबरजस्ती करणीका १०, कर्तव्य ज्यान खुन डाँका तथा अपहरणका सात र अन्य १७७ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनु भयो ।
पुस २३ गते कृष्णनगर नगरपालिका १ गुर्चिहवा बस्ने अन्दाजी ५७ वर्षका सोमई भन्ने प्रकाश कहारलाई नियन्त्रणमा लिएको थियो । तिन वटा खुन डाँका, एक वटा डाँका तथा एक वटा चोरी मुद्दा गरी जम्मा पाँच वटा मुद्दाहरूमा विभिन्न मितिमा फैसला भई जम्मा कैद सजाय ६१ वर्ष र कुल जरिवाना तिन लाख बाउन्न हजार सात सय अठहत्तर कैद भुक्तान तथा जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताउनु भयो ।
यसै गरी पुस २२ गते लागु औषध (ब्राउन सुगर) सम्बन्धी मुद्दाको फरार प्रतिवादीलाई २५ वर्ष पछि पक्राउ गरेको थियो । कपिलवस्तु जिल्ला अदालत तौलिहवाबाट मिति २०५६ चैत्र २८ गतेको फैसलाको आदेशअनुसार तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका जिल्लाको बिजयनगर गाउँपालिका १ का ५१ वर्षीय कृष्ण बहादुर चौधरीलाई पक्राउ गरिएको थियो ।
अपराध गर्ने व्यक्ति कानुनको नजरबाट लामो समय सम्म बच्न नसक्ने सन्देश प्रवाह गर्नका लागी कपिलवस्तु प्रहरीले फरार प्रतिवादी पक्राउको कार्य अभियानको रूपमा सञ्चालन गरेको जनाएको छ ।